नमूना बन्दै महोत्तरीको सामुदायिक विद्यालय

0

बर्दिवास, २५ भदौ : “हेलो…हजुर ! को बोल्नु भएको ?” मोबाइलमा लगातार घण्टी बजिरहेपछि फोन रिसिभ गर्दै ललिता जयसवालले भन्नुभयो, “म बर्दिवासबाट ललिता हजुर !” ललितालाई उहाँकी छोरी मधु जयसवाल पढिरहेकी महोत्तरी जिल्लाको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्र रम्तेलले फोन गर्नुभएको रहेछ ।
“ललिताजी, आज मधु विद्यालय आइनन् नि ! किन होला ?,” प्रधानाध्यापक रम्तेलले छोरी मधु विद्यालय नपुगेकीमा सोधखोज गर्नुभएको रहेछ । रम्तेलको प्रश्नबारे प्रष्ट्याउँदै ललिताले अगाडि भन्नुभयो – “नानीहरु विद्यालय पुग्न एकछिन ढिलो हुनासाथै विद्यालयबाट फोन आइहाल्छ ।” कक्षा–९ मा पढिरहेकी आफ्नी छोरी विद्यालय पुग्न ढिलो हुँदा त्यसैबीच प्रधानाध्यापकको फोन आएको ललिताले बताउनुभयो ।

सामुदायिक विद्यालयको पठनपाठन भनेपछि नाक खुम्च्याइने मधेशको आम परिवेशबीच महोत्तरी जिल्लाको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयको पठनपाठन व्यवस्थापनले भने आम अभिभावकको मन तानेको छ । प्राथमिक तहदेखि माध्यमिक तहसम्म पठनपाठन भइरहेको यो विद्यालयको व्यवस्थापनले विद्यार्थी भर्नादेखि उपस्थितिसम्मको कुरालाई प्रभावकारी बनाउन सञ्चालन गरेको ‘फोन इन’ कार्यक्रम आम अभिभावकका लागि थप आकर्षण बनेको छ ।

“घरबाट स्कूल जान हिँडेका नानीहरु त्यहाँ पुग्न ढिलो हुनासाथ घरमा फोन आइहाल्छ,” विद्यालयमा कक्षा ६ मा पढिरहेकी छात्रा सलिना ब्लोनकी आमा इन्दिरा ब्लोनले सञ्चारकर्मीसँग भन्नुभयो – “अब ढुक्क भएकी छु ।” नानीहरु विद्यालय जाने भनेर हिँडेपछि अन्तै बरालिएका छन् भने तुरुन्त थाहा पाइने भएपछि उनीहरुको थप देखभाल गर्न सजिलो भएको इन्दिरा जस्तै आमअभिभावकको प्रतिक्रिया छ ।

खासमा २०७२ सालमा मधेश आन्दोलन भइरहेताका पनि हडतालको प्रभाव नपरेको यो विद्यालयले विद्यार्थीको सुरक्षा सजगताका लागि शुरु गरेको ‘फोन इन’ निकै प्रभावकारी भएको ठहर गरिएपछि यसलाई निरन्तरता दिइएको विद्यालय प्रशासनले जनाएको छ । “त्यतिखेर (२०७२ सालमा) त विद्यालय आउँदा÷जाँदा सुरक्षा अवस्थाबारे सजगता अपनाउन मात्र ‘फोन इन’ शुरु गरेका थियौं,” विद्यालयका प्रधानाध्यापक रम्तेलले भन्नुभयो – “हुँदै जाँदा यो घरमा विद्यार्थीको बसउठ, पारिवारिक अनुशासन, विद्यालयको गृहकार्य र व्यक्तिगत सरसफाइमा कस्तो ध्यान दिन्छन् भन्ने बुझ्न र उनीहरुबारे अभिभावकलाई सुझाव दिन प्रभावकारी भएको पाइएपछि ‘फोन इन’ लाई निरन्तरता दिएका छौं ।”

बाटोमा अलमल गरे वा साथीसँग अन्तै बरालिए घरमा फोन गइहाल्ने कुरा बुझेका विद्यार्थी अब सामान्य स्थितिमा अनुपस्थित हुन छाडेका शिक्षकहरुको ठम्याइ छ । अब अभिभावकले पनि आफ्ना नानीहरुको पठनपाठनबारे चासो राखेर विद्यालयमा फोन गर्न थालेपछि विद्यार्थीको उपस्थिति, रुची, सङ्गत र पठनपाठनका समस्या बुझ्न सजिलो भएको विद्यालयका सहायक प्रधानाध्यापक लीलानाथ गौतम बताउनुहुन्छ ।
‘फोन इन’ कार्यक्रमले विद्यालयमा विद्यार्थी उपस्थितिलाई नियमित बनाउन महत्वपूर्ण भूमिका निभाएको आम अभिभावक बताउँछन् । घरकै कामले कुनै दिन आफ्ना छोराछोरी विद्यालय जान नसकेका दिन प्रधानाध्यापकले अभिभावकलाई फोन गरेर तत्काल विद्यार्थी ल्याइदिन अनुरोध गर्ने गरेकाले अब खासै उपयुक्त कारणबाहेक आफ्नी छोरी सधैं विद्यालय जाने गरेकी कक्षा–८ की छात्रा निशा भुजेलका पिता निरबहादुर भुजेल बताउनुहुन्छ । विद्यालयका प्रधानाध्यापकले विद्यार्थीहरुमा पठनपाठनप्रतिको रुची, समस्या र अभिभावकले ध्यान दिनुपर्ने कुरा फोनबाटै जानकारी दिएपछि घरमा नानीहरुको देखभाल गर्न निक्कै सहयोग हुने गरेको अभिभावक वर्गको प्रतिक्रिया छ ।

यस वर्षको शैक्षिक सत्रको शुरुआतमा (गत वैशाखमा) विद्यालय वरपरका वस्तीका विद्यालय जानपर्ने उमेरका बालबालिकाको लगत संकलन गरेर उनीहरुलाई विद्यालय भर्ना गर्न अभिभावकलाई उत्प्रेरित गर्न पनि ‘फोन इन’ कार्यक्रम प्रभावकारी भएको विद्यालय प्रशासनको ठहर छ । पहिलो घण्टीमा कक्षा शिक्षकले हाजिरी रजिष्टरमा अनुपस्थित रहेका विद्यार्थीको नाम उपलब्ध गराउने बित्तिक्कै अभिभावकलाई तत्काल फोन गरिने यो अभियानले छात्रछात्राको नियमित उपस्थिति हुने क्रमलाई व्यवस्थित बनाएको प्रअ रम्तेल बताउनुहुन्छ ।

‘फोन इन’ कार्यक्रमलाई छुट्याइएको एकहजार रुपैयाँको सामान्य मासिक रकमले ल्याएको परिवर्तनले शिक्षकहरुमा पनि निक्कै ऊर्जा थपेको विद्यालय व्यवस्थापन समितिको ठम्याइ छ । अभिभावक र विद्यालयको सम्बन्ध नजीक बनाई शिक्षण क्रियाकलापमा सुधार ल्याउन सञ्चालन गरिएको यो अभियानले शिक्षकभित्रका समस्या पनि अभिभावकबाट आउन थालेकाले ती समस्या सच्याउन सहयोग पुगेको बर्दिवास–३ का वडाध्यक्षसमेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन ढुङ्गाना बताउनुहुन्छ ।
‘फोन इन’सँगै नियमित कवाज, औपचारिक पोशाक, अतिरिक्त कक्षा सञ्चालन, विद्यार्थीको मासिक प्रगति विवरण, व्यक्तिगत सरसफाइ अनुगमन र गुनासो पेटिका विद्यालयका थप आकर्षण भएको अभिभावक बताउँछन् ।

कक्षा एकदेखि १० कक्षासम्मको माध्यमिक तहसम्म ७६४ विद्यार्थी रहेका छन् जसमा ५१ प्रतिशतभन्दा बढी छात्राको सङ्ख्या रहेको छ । विद्यालयले पशुस्वास्थ्य विज्ञान र बाली विज्ञान विषयको तीन वर्षे स्नातक तहको पठनपाठनसमेत सञ्चालन गरेको छ । दुबै विषयमा गरी मुलुकका विभिन्न भेगका २४० जना विद्यार्थी रहेका प्रअ रम्तेलले जानकारी दिनुभयो । विद्यालयसँग हाललाई विद्यार्थी सङ्ख्या धान्ने पुस्तकालय तथा प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, प्रशासनिक भवन र कक्षा कोठासहित तीनवटा भवन छन् ।

ती भवनका ३४ कोठा प्रयोगमा र चार कोठे नयाँ भवन निर्माणाधीन छ । हाललाई भवन र कोठा पर्याप्त भए पनि माध्यमिक तहमा चारवटा मात्र स्वीकृत दरबन्दीका शिक्षक हुँदा तालिकाभित्र प्रत्येक विषयको पठनपाठन समयमै सक्न सकस पर्ने गरेको प्रअ रम्तेलको गुनासो छ ।
विद्यालयमा दरबन्दीभित्रका (स्थायी, अस्थायी र राहतसमेत), स्थानीय स्रोत परिचालन गरेर नियुक्त गरिएका र बाल विकास सेवाका समेत ३७ जना शिक्षक छन् । यसमा महिलाको सङ्ख्या १९ छ । विद्यालयले स्थानीय स्रोतबाट १५ जना शिक्षक, लेखापाल, कार्यालय प्रशासन, पुस्तकालय, कार्यालय सहयोगी, सुरक्षा गार्ड र मेहतरसमेत २५ जनाको पारिश्रमिक जुटाउनुपरेको प्रअ रम्तेल बताउनुहुन्छ । त्यसैगरी, पशु स्वास्थ्य विज्ञान र बाली विज्ञान स्नातक तहको पठनपाठनमा चारजना दरबन्दीभित्रका, सात जना स्थानीय स्रोतभित्रका र पाँच जना अतिरिक्त कक्षाका समेत गरी १६ जना शिक्षक कार्यरत छन् ।

आम रुपमा सामुदायिक विद्यालयले विश्वास जगाउन नसकेको स्थितिभित्र जनता मावि गौरीडाँडाले देखाएको विद्यार्थीप्रतिको जिम्मेवारीबोधले नयाँ आशा सञ्चार गरेको यस क्षेत्रका शिक्षाविद्को भनाइ छ । विद्यार्थीको उपस्थिति मात्र नभई शिक्षाको गुणस्तर, शिक्षण क्रियाकलाप र शिक्षण विधिमा देखिने समस्याबारे तत्काल सामूहिक छलफलबाट समाधान खोजिने परिपाटीले समर्पित भएर लागिपर्दा सामुदायिक विद्यालय राम्रा उदाहरणमा उभ्याइन सकिन्छन् भन्ने परिचय यो विद्यालयले बनाएको लामो समय शिक्षा क्षेत्रको सरकारी सेवा गर्नुभएका अवकाश प्राप्त उपसचिव जलेश्वर नपा–४ सुगाभवानीपट्टीका बासिन्दा ८० वर्षीय कृष्णचन्द्र झाको ठम्याइ छ । गोपालप्रसाद बराल,रासस

Share.

Comments are closed.

error: Content is protected !!