दैनिक १८ घण्टा सञ्चालन हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट राति ३ बजेसम्म चल्ने

0

काठमाडौं, जेठ ७: हाल दैनिक १८ घण्टा सञ्चालन हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार (आज)बाट दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । यससंगै दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुँदा उडान अवतरणको चाप घट्ने र आकाशमै जहाजलाई ‘होल्ड’ गर्नुपर्ने जस्ता विगतमा देखिएका समस्या समाधान हुने विश्वास छ ।

त्रिभुवन विमानस्थललाई २१ घण्टा सञ्चालन गर्न चाहिने एटीसीलगायत आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । उनका अनुसार बोर्ड बैठकले अतिरिक्त समय खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता समेत दिने निर्णय गरिसकेको छ ।

यसअघि पर्यटन मन्त्री रविन्द्र अधिकारीले एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक २१ घण्टा सञ्चालनमा ल्याउन सुरु गरिएको हो ।

Share.

Comments are closed.

error: Content is protected !!