देवानन्दसँग अचानक भेट्दा उनले नेपाल बारे यसो भनेका थिए : वरिष्ठ पत्रकार एवम कलाकार पदम प्रसाद पौडेल [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर, भक्तपुर। पदम प्रसाद पौडेल आफ्नो उमेर भन्दा धेरै अगाडि छन् । उमेरकै कुरा गर्ने हो भने ८ दशक पूरा गरिसकेको छ तर उनी अझै तन्नेरी छन्, तन्दरुस्त छन्। उनी शिक्षक थिए। बालबालिकाका शिक्षाको ज्योति छर्थे। एक्कासी पत्रकारिता गर्न उनलाई अफर आयो। राम्रो लेख्नु हुन्छ हाम्रो पत्रिकामा काम गर्नुस् न भन्दा उनी केहि बेर टोलाए। शिक्षण पेसालाई असर पो पर्ने हो कि भनेर उनी डराए पनि। पारिश्रमिक दिन्छु ,पढाउन पनि जानुहोला केहि असर पर्दैन भन्दै उनलाई एक व्यक्तिले ढाडस दिए। यसरि उनको जीवनमा पत्रकारिताले पनि पाइला टेक्यो। कलाकारितामा पनि उनको रुचि सानै देखि भएकाले कलाकारिता क्षेत्रमा पनि उनी लागे।

कलाकारिताको शोखमा चुर्लुम्म डुबेका कलाकार पौडेल देवानन्दको फ्यान हुन् । देवानन्दको फिल्म आयो कि उनी हेर्नलाई छुटाउँदैन थिए । देवानन्दकै अभिनय गर्दै हिंड्ने, उनीजस्तै कपाल बनाएर हिंड्ने गर्दागर्दै आज उनी चलचित्रमा उत्कृष्ट कलाकारको रुपमा परिचित भइसकेका छन् । उनले चलचित्र रिसानी माफ, उपद्रो, नालापानी, आधा बाटो लगायत ६६ वटा चलचित्रमा अभिनय गरिसकेका छन् भने ५३ वटा साना चलचित्र, ९ वटा म्यूजिक भिडियो, ६ वटा विज्ञापनमा समेत अभिनय गरेका छन् । कलाकारितामा यसरि चुर्लुम्म डुबेका उनको ७५ वटा चलचित्र पुर्याउने धोको रहेको छ।

५ छोरा र २ छोरीका बुबा उनी १४ जना नातिनातिनीका हजुरबुबासमेत भए । उनकी जीवनसंगीनी देवकुमारी पौडेल पनि कलाकारितामा रुचि राख्छिन् र अभिनय गर्छिन् । देवकुमारीले समेत ७ चलचित्र, ६ वटा साना चलचित्र, ५ वटा म्यूजिक भिडियो र ३ वटा विज्ञापन खेलिसकेकी छन् । यसरी उनीहरु दुवै एक अर्कालाई साथ दिंदै हरेक क्षेत्रमा अगाडी बढिरहेका छन्।

संखुवासभाको चैनपुरमा जन्मिएका उनी काठको पाटी र खरिढुंगामा लेख्दालेख्दै शिक्षकसम्म बन्न पुगे । सानैमा चुतरो स्वभावको उनी भारतको सिलङमा गएर पढेका थिए । ज्योतिष समेत पढेका उनी बुबाको पदचाप भने पछ्याउन सकेनन् । बुबा ज्योतिष, पुरोहित भएर हिंडे भने उनले महालय पुराण भन्ने काम भने गरे । बुबाको इच्छा जजमान बनोस् भन्ने थियो तर उनी भने कलाकारितातर्फ मन डुलाउँदै आएका थिए । वनारसबाट आइएसम्मको शिक्षा लिएपछि उनी नेपाल फर्किए र धनकुटामा शिक्षण गर्न थाले । करिब ३० वर्षको शिक्षण पेशासँगै पत्रकारिता पनि गरेका थिए उनले । राससको धनकुटा प्रतिनिधि भएर काम गरेका पौडेलले मञ्चमा नउभिएको समारोह थिएन ।

सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा क्याम्पस उद्घाटनका लागि धनकुटा पुगेका थिए । त्यही बेला सिडियोले धनकुटाबाट रासस प्रतिनिधिका रुपमा पदम सरले मात्र काम गर्न सक्नुहुन्छ भनेपछि प्रधानमन्त्री थापाले रासस प्रतिनिधि बनाइदिएका थिए । २०३८ सालबाट पत्रकारिता गरेका उनले अरुण, तमोर तरेर गाउँ गाउँको रिपोर्टिङ गरेका थिए । उनले २२ वर्ष पत्रकारिता गरेपछि ६० सालमा मन्त्री मिनेन्द्र रिजालको हातबाट सम्मान समेत पाएका थिए । त्यसो त उत्कृष्ट शिक्षक भएकै कारण राष्ट्रियस्तरमा, जिल्लामा सम्मान समेत मिलेको थियो उनलाई । पौडेलको जोडी नै अब उमेर र स्वास्थ्यले साथ दिएसम्म कलाकारिता नछाड्ने सोचमा छन् ।

१७ वर्षे कलाकारिताका ८१ वर्षे हिरो पौडेलको जोश र जाँगर अझै पनि उस्तै छ । दिनदिनै कलाकारितामा दौडिरहेका हुन्छन्, हरेक कार्यक्रममा सहभागी हुन्छन्। कतै कार्यक्रम सम्पन्न हुँदा उनकै विशेष आतिथ्यमा हुन्छ। प्रसन्नताको साथ् उनी कार्यक्रममा देखिन्छन्। पत्रकारितामा पनि उनको मोह अझै छ। जुनै पनि रिपोर्टर्स क्लबको कार्यक्रममा उनी सक्रियताको साथ पुग्छन्।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!