डल्लुमा निःशुल्क स्वास्थ्य परीक्षण

0

काठमाडौँ, १३ माघ (रासस) : काठमाडौँ महानगरपालिका–१५ डल्लु आवास क्षेत्रस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्ले यहाँ करिब ५०० जनालाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ । उक्त शिविरमा जनरल फिजिसियन सेवा, हाडजोर्नी तथा नशा रोग, दन्त सेवा, मुटुरोग तथा मधुमेह, छाला रोग, स्त्री रोग, नाक, कान, घाँटीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो ।

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य जीवनराम श्रेष्ठले शुभारम्भ गर्नुभएको शिविरमा त्यस वडा तथा वरपर क्षेत्रबाट ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग र सर्वसाधारणले सेवा लिएका थिए ।सो अवसरमा नेता श्रेष्ठले मुलुकमा स्वास्थ्य सेवा खर्चिलो हुँदै गएकाले यसलाई सर्वसुलभ र सबैको पहुँचमा पु¥याउनका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आज शिविर सञ्चालन गरी औषधि वितरणसमेत गरिएको जानकारी दिनुभयो । परिषद्ले उक्त वडाको सहयोगमा सामाजिक सुरक्षा भत्ता प्राप्त जनताको सम्मानमा केही दिनमा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्दैछ । त्यस कार्यका लागि वडाले मासिक रु एक लाख परिषद्लाई सहयोगसमेत प्रदान गर्ने सम्झौता भइसकेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!