डकर्मी तालीम सञ्चालन

0

काठमाडौँ, १२ माघ (रासस) : काठमाडौँ महानगरपालिका–१५ ले भूकम्प प्रभावित क्षेत्रमा घर निर्माणमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले डकर्मी तालीम आजदेखि सञ्चालन गरेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा डल्लु सामुदायिक भवनमा एक सातासम्म सञ्चालन गरिएको प्रशिक्षणमा उनीहरुलाई व्यावहारिक तथा सैद्धान्तिक ज्ञान उपलब्ध गराइने छ ।

उक्त कार्यक्रममा ३० महिला तथा ३० पुरुष सहभागी छन् भने सहभागीले दक्षता हासिल गरेपछि प्रभावित क्षेत्रमा निर्माणका कार्यमा खटाइने छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले प्रशिक्षण कार्यक्रमको उद्घाटनमा मुलुकको समृद्धिका लागि पूर्वाधार विकास निर्माणको खाँचो रहेको औँल्याउँदै उत्पादन कार्यमा महिला तथा पुरुषलाई एकैसाथ लगाउने समान ज्याला वितरण गर्ने व्यवस्थाले सामाजिक न्याय कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कामपा–१५ का वडाअध्यक्ष ईश्वरमान डंगोलले भूकम्पका कारण काठमाडौँको भित्री शहरका केही निजी घर अहिले पनि धरापमा रहेकाले तीनको चाँडो व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पबाट ३१ प्रभावित भएको भए पनि १४ जिल्ला अति प्रभावित मानिएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!