टस हारेर ब्याटिङ गर्दै दिल्ली, सन्दीप पहिलो ११ मा अटाएनन्

0

चैत २५, दिल्ली डेयरडेभिल्सले चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । पञ्जाबविरुद्धको पहिलो खेलमा सन्दीप लामिछाने टिममा परेका छैनन् । मोहलीस्थित इस विन्द्रा रंगशालामा दिल्लीले घरेलु टोली पञ्जाबसँग प्रतिस्पर्धा गर्न लागेको हो । पञ्जाबले टस जितेर फिल्डिङ गर्ने भएसँगै दिल्लीले ब्याटिङको निम्तो पाएको हो ।

गौतम गम्भिरको कप्तानीमा रहेको दिल्ली आफ्नो पहिलो खेलमा शानदार जित हात पार्ने दाउमा छ । यता, रविचन्द्रन अश्विनको कप्तानीमा पञ्जाब रहेको छ । दिल्ली टिममा रहेका नेपालका सन्दीप लामिछाने पञ्जाब विरुद्धको पहिलो खेलमा परेनन् । दिल्लीको विदेशी खेलाडीमा कुलिन मुनरो, डानियल क्रिस्टायन, ट्रेन्ट बोल्ड र क्रिस मोरिस रहेका छन् ।

दिल्ली डेयरडेभिल्समा आबद्ध भएका सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेट खेलाडी हुन् । सन्दीप आईपीएल खेल्न गत मार्च २७ तारिखमा दिल्ली गएका थिए ।

आईपीएलमा ८ टिमको सहभागिता रहेको छ । होम एण्ड अवेको आधारमा करिब १ महिनासम्म सञ्चालन हुने आईपीएलमा साविक विजेता मुम्बई इन्डियन्स, चेन्नाई सुपर किंग्स, सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बेंगलोर, कोलकोता नाइट राइडर्स, दिल्ली डेयरडेभिल्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पञ्जाब रहेका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!