जापानमा फेरि अर्का नेपाली विद्यार्थीको शंकास्पद मृत्यु

0

सुवास खत्री (पिएनपिखबर), जापान । तीन वर्ष अघि विद्यार्थीका भिषामा जापानमा आएका अर्घाखाँचीका २३ वर्षीय प्रकाश आचार्यले जनवरी २३ तारिखमा फेसबुकमार्फत ‘अपुरा रहरहरु अपुरो जीवन’ स्टाटस राखेकै भोलिपल्ट मृत अवस्थामा भेटिएका छन् ।

जापानको फुकोआका स्थित एक भोकेसनल स्कूलमा पहिलो वर्षमा अध्ययनरत सन्धीखर्क नगरपालिका ११ दिर्भमका आचार्यलाई २४ जनवरीमा समुद्रको नजिकै रहेको जंगलमा मृत अवस्थामा भेटिएको जानकारी प्राप्त भएको छ । सोमबार बिहान साथीहरुसँगै खाना खाएर स्कूल जानका लागि निस्केका आचार्य स्कूलमा नगएका र मंगलबार बिहान स्कूलमा फोनमार्फत आफू बिरामी भएको जानकारी गराएपछि साथीहरुको सम्पर्कमा पनि नरहेको बताइएको छ ।

मृतकको शवलाई प्रहरीकै नियन्त्रणमा राखिएको र उनका दाजु हाल कोरियामा रहेकाले उनी जापान आए पश्चात दाहसंस्कार गरिने भएको छ । शंकास्पद रहेको मृत्युको कारण हालसम्म पनि खुल्न नसकेको जापान प्रहरीले बताएको छ ।

पारिवारिक अवस्था अत्यन्त्यै नाजुक रहेको र घरमा सामान्य हिडडुल गर्न समेत नसक्ने आमा मात्र रहनुभएकोले मृतकको दाहसंस्कार र परिवारको सहयोगका लागि अर्घाखाँची समाज जापानले एक विज्ञप्तीमार्फत जापानबासी सबैमा अपिल गरेको छ ।

मृतकका बाबुको दुई वर्ष अगाडि दुर्घटनामा परि मृत्यु भएको थियो भने उनको मृत्युको पिडाले गर्दा हाल मृतक आचार्यकी हजुरआमाको पनि एकवर्ष अगाडि मृत्यु भएको थियो । हाल निजको घरमा बिरामी अवस्थामा रहेकी आमा मात्र हुनुहुन्छ ।

Share.

Comments are closed.

error: Content is protected !!