जसले राजा महेन्द्रलाई बम हानेका थिए

0

काठमाडौं, माघ १६: प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा मृत्युवरण गरेका सयौँ सहिदको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले राणाविरोधी भएकै नाममा १९९७ मा मृत्युदण्ड पाएका थिए । यिनै चार सहिदको सम्मानमा २०१२ देखि सहिद दिवस मनाउन थालियो । त्यसपछि राजा र राजतन्त्रविरुद्ध पनि विभिन्न आन्दोलन भए । यसक्रममा पनि कैयौँको मृत्यु भयो ।

तत्कालीन राजा महेन्द्रले प्रत्यक्ष शासन लादेपछि २०१८ मा जनकपुरमा उनलाई दुर्गानन्द झाले बम प्रहार गरे । धनुषाका झालाई २०२० मा फाँसी दिइयो । तर, गणतन्त्र प्राप्तिपछि विभिन्न आन्दोलनमा त्याग गरेका कैयौँलाई सरकारले सहिद घोषणा गर्दा झा भने ओझेलमै परे । उनको मृत्युको ५२ वर्षपछि अर्थात् दुई वर्षअघि मात्रै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले झालाई सहिद घोषणा गर्‍यो ।

बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ मा अपदस्थ गरे र प्रत्यक्ष शासन थाले । राजाको कदमविरुद्ध कांग्रेसले सशस्त्र संघर्ष थाल्यो । बिहारको सीमावर्ती सहरमा कांग्रेसको सशस्त्र शिविर स्थापना भए । राजा महेन्द्रले २०१८ माघ ९ मा जनकपुरको जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम थियो । सशस्त्र संघर्षरत कांग्रेसका युवाहरूले त्यसवेला राजालाई ठूलै धक्का दिने निर्णय गरे । विद्यार्थी जीवनमा रहेका दुर्गानन्द झा त्यही मौकामा महेन्द्रविरुद्ध रिस पोख्ने योजनामा थिए । झाले राजामाथि बम प्रहार गरेको ग्रिनेड बम पड्किएन र राजा जोगिए । घटनाको दुई वर्षपछि झालाई अदालती आदेशअनुसार फाँसीको सजाय भयो । राजा सिध्याएर गणतन्त्र स्थापना गर्ने सपना बोकेका झाले २२ वर्षको उमेरमै संसार छाड्नुपर्‍यो ।

१९९७ मा शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दलाई राणाले अदालतको सहारामा मारेजस्तै २०२० पुस १० मा गराइएको अदालती आदेशअनुसार २०२० माघ १५ गते झालाई फाँसीको सजाय भयो । राज्यले मुलुकी ऐन संशोधन गरेर पहिलोपटक ब्राह्मणलाई मृत्युदण्ड दिएको थियो । ब्राह्मण भएकै कारण त्यसअघि रामहरि शर्मा र टंकप्रसाद आचार्य मृत्युदण्डबाट बचेका थिए ।

०००
१९९७ माघ १० देखि १५ सम्ममा शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथले मृत्युदण्डको सजाय पाउँदा झा जन्मेकै थिएनन् । उनी १९९९ वैशाख १४ मा धनुषास्थित भारतसँग जोडिएको सीमावर्ती जटही गाउँमा जन्मेका थिए । देवनारायण झा र श्रीमती सुकुमारीदेवीका उनी एक्ला सन्तान थिए । जटहीबाट करिब तीन किलोमिटर दक्षिणतर्फ भारतको उमगावँको दीनदयाल माध्यमिक विद्यालयमा पढ्दै गर्दा उनी राजनीतिमा होमिएका थिए । २०१५ को पहिलो आमनिर्वाचनका वेला पनि उनी प्रचारक भएर खटिएका थिए ।

झाका गाउँले धनुषा कांग्रेसका पूर्वसभापति तथा सांसद स्मृतिनारायण चौधरीको मानसपटलमा २०१८ माघ ९ को त्यो बमकाण्ड अहिले पनि ताजै छ । बम हान्ने तत्कालीन योजनाबारे उनले सुनाए, ‘बम हान्ने योजनाबारे छलफल हुँदा सुरुमा दुर्गानन्दले बम हान्न मै जान्छु भनेका थिए । पछि अरविन्द ठाकुर पनि तयार भए । त्यो वेला कांग्रेसमा विवाद थियो । दुर्गानन्द र अरविन्द बेग्लाबेग्लै बाटो प्रयोग गरेर गए । दुर्गानन्दले सुरक्षाकर्मीलाई छल्दै जानकी मन्दिर पुगेर बम प्रहार गरे ।’

राजा महेन्द्र जनकपुर विमानस्थलमा अवतरण गरेका थिए । राजा ओर्लिनुअघि नै बमसहित अरविन्दकुमार ठाकुर पक्राउ परेका थिए । कडा सुरक्षासहित महेन्द्र जानकी मन्दिर पुगे । जानकी चोकमा गाडी रोक्नेबित्तिकै दुर्गानन्दले बम प्रहार गरेका थिए । तर, बम पड्किएन । दुर्गानन्दले कमजोर बम बोकेको पूर्वसांसद चौधरी सम्झिन्छन् । त्यो ग्रिनेड भारतबाटै ल्याइएको थियो । ‘ग्रिनेड पड्किएको भए राजा बाँच्ने थिएनन्, तर बमले राजाको गाडीको पछाडिको सिसा मात्रै फुट्यो, राजालाई केही भएन,’ उनले सुनाए ।

त्यसवेला सशस्त्र आन्दोलनको इन्चार्ज वीरगन्जका तेजबहादुर अमात्य थिए । अमात्यसहित बसियाका महावीर शर्मा र निर्गुण यादव रक्सौलमा बस्थे । स्मृतिनारायणका अनुसार बम दुर्गानन्द झा र अरविन्द ठाकुरले भारतबाट आफैँ बोकेर ल्याएका थिए । तर, एकजना आएको बाटोमा अर्को नआउने उनीहरूको सर्त थियो । सर्त पूरा भयो ।

हेमचन्द्र चौधरी, उदयचन्द्र चौधरी जनकपुरस्थित मुनिबाबाको कुटीमा बस्थे । चौधरीको स्मरणअनुसार बम हानेर दुर्गानन्द त्यहीँ बसे । घटनाको भोलिपल्ट अर्थात् माघ १० गते बिहान पाइखाना (शौचालय) जाने भनेर पानी भरिएको लोटा लिएर उनी निस्किए । भागेर भारतीय बजार उमराव पुगे । प्रहरीले सुइँको पाएन ।

चौधरीले अगाडि बेलिविस्तार लगाए, ‘दुर्गानन्द भारत गएपछि पटना, जयनगरसहित ठाउँ–ठाउँमा सक्रिय भए । त्यसवेला उनको क्रेज थियो । राजालाई बम हान्ने मानिस भनेर सबैले उनको चर्चा गर्थे । तर, जयनगर क्याम्पमा केही कांग्रेसका नेताले दुर्गानन्दलाई हेपे । दुर्गानन्दलाई मन परेन । दुर्गानन्दले विरक्तिएर निर्णय लिए, यो अपमान सहनुभन्दा आफ्नै देश जान्छु । त्यहाँ जे–जे हुन्छ, हुन्छ ।’

कांग्रेसका पुराना नेता श्यामलाल श्रेष्ठलाई जेलमै दुर्गानन्द झाले भनेका थिए रे, राजालाई बम हानेर भारत पुगेका उनलाई साथीभाइले नै अपमानित गर्न खोजे । श्यामलालले कांग्रेसनिकट तरुण पत्रिकामा दुर्गानन्दलाई उद्धृत गर्दै भनेका छन्, ‘नेताहरूबाट मैले फरक व्यवहार पाएँ । मलाई लाग्यो, यसरी आत्मसम्मानमा चोट पुग्ने काम मबाट हुनुहुँदैन, म गर्दिनँ । म किन भारतमा बसिरहने ? बरु नेपालमै फर्केर फाँसीमा चढ्छु नि ! आफ्नै देशको माटोमा मर्छु, तर मेरो स्वाभिमानमा आँच आउन दिन्नँ भनेर म आफ्नै धर्तीमा फर्केर आएँ ।’ श्यामलालले त दुर्गानन्दलाई फर्किन बाध्य पारिएको विषयमा अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

उनलाई नेपालमा प्रहरीले खोजिरहेको थियो । जयनगरबाट रेल चढेर जनकपुर आइपुग्दा नपुग्दै झा प्रहरीको घेरामा परे । पक्राउ परे । एसपी मानबहादुर राईको टोलीले त्यहाँबाट उनलाई सेनाको परकौली ब्यारेक (सर्लाही) लग्यो । श्यामलालले झा पक्राउ घटनाबारे थप भने, ‘परकौलीमा हाम्रै गाउँका दुईजना व्यक्ति कमलाकान्त चौधरी र शशिधर चौधरी पनि थिए । दुर्गानन्दलाई देखेर उनीहरूले भने, तपाईं कहाँ ? उहाँले भन्नुभयो, तपाईंहरू जहाँ हुनुहुन्छ, म पनि त्यहीँ । भोलिपल्ट उहाँलाई हेलिकोप्टरमा हालेर काठमाडौं लगियो र केन्द्रीय कारागार चलान गरियो ।’

०००
फाँसी दिइनुभन्दा दुई–चार दिनअघि जटही गाउँमा प्रहरीको एउटा टोली पुग्यो । आमा र श्रीमतीलाई भेटेर प्रहरीले भने, एकपटक दुर्गानन्दजीलाई भेट्न जानुस् । पञ्चायत थियो । मानिसहरू द्विविधामा थिए । कसैले जानू भन्थे, कोही नजानू भन्थे । तर, आमा र श्रीमती जाने नै निष्कर्षमा पुगे । जटही, भिट्टामोड हुँदै उनीहरू काठमाडौं पुगे । स्थानीय महिकान्त चौधरीले झाकी आमा र श्रीमतीलाई लिएर काठमाडौं गए । झा परिवार त्रिपुरेश्वरमा बस्यो । २०२० माघ १४ गते राति चार–पाँचजना महिला प्रहरी आएर घेराबन्दी गरे । एउटा कागजमा बलजफ्ती औँठाछाप लगाइदिए । कुरा के हो उनीहरूलाई थाहा थिएन । अन्जानमै छाप लगाए । प्रहरीले त्यसपछि भने, दुर्गानन्दलाई भेट्छौ ? परिवार त भेट्नै गएका थिए । जेलमा दुर्गानन्दलाई भेट्नासाथ आमा र श्रीमती रुन थाले । दुर्गानन्दले भने, ‘नरोऊ, गणतन्त्र अब आउँछ–आउँछ । तिमीहरू गाउँ जाऊ ।’ एक÷दुई दिन बसेर आमा र श्रीमती फर्किए । २०२० साल माघ १५ गते दुर्गानन्दलाई फाँसी दिइयो ।

०००
दुर्गानन्द झाबारे जानकार पत्रकार राजेश्वर नेपालीका अनुसार बमकाण्डको अध्ययन गर्न विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहेको आयोग गठन भयो । आयोगले २०१९ भदौ १९ मा बुझाएको प्रतिवेदनमा दुर्गानन्द, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाब थियो । तर, त्यो वेलाको कानुनमा ब्राह्मणलाई मृत्युदण्ड दिन पाइँदैनथ्यो । आयोगविरुद्ध उनीहरूले सर्वोच्च अदालतमा पुनरावेदन दिए । सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा अपिलकर्तालाई झिकाउने आदेश गरे । फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णय सदर गरे । राजा महेन्द्रले २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था गरे । यसको अर्थ थियो, अब ब्राह्मणलाई पनि फाँसीको सजाय हुनेछ । अन्ततः झामाथि फाँसीको सजाय भयो । त्यतिवेला उनकी श्रीमती काशीनाथ झाको गर्भबाट मृत बच्चा जन्मियो । दुर्गानन्द झालाई फाँसीको सजाय हुँदा विवाह भएको १० महिना कटेको थिएन । काशीनाथ झा हाल राष्ट्रिय जनता पार्टी (राजपा)मा आबद्ध छिन् । दुर्गानन्दकी आमाको २०६० मा मृत्यु भइसक्यो । छोरोको मृत्युमा वर्षौंसम्म विक्षिप्त उनले छोरालाई सहिद घोषणा गरेकोे देख्न पाइनन् ।

०००
दुर्गानन्दको स्मृतिमा धनुषा कांग्रेसका तत्कालीन सभापति स्मृतिनारायण चौधरीले जटही गाउँमा उनको सालिकसहितको प्रवेशद्वार निर्माण गराए । ३ असार २०५५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले द्वारको उद्घाटन गरेका थिए ।

सरकारले पाँच वर्षअघि दुर्गानन्द झाको पैतृक गाउँ धनुषाको जटहीमा प्रसूतिगृह निर्माणको घोषणा पनि गरेको थियो । तर, यो कार्य सम्पन्न हुन बाँकी छ । एमाले नेता केपी ओली नेतृत्वको सरकारले झापा आन्दोलनमा मारिएका नेतासँगै दुर्गानन्दलाई पनि सहिद घोषणा ग¥यो । त्यसअघि कांग्रेस नेतृत्वको सरकारले उनलाई सम्झेको थिएन ।

०००
कांग्रेसले हरेक वर्ष धनुषामा दुर्गानन्द स्मृति कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि जटहीमा श्रद्धाञ्जली कार्यक्रम भयो । दुर्गानन्द स्मृति प्रवेशद्वारमा दीप बालेर कांग्रेसजनले दुर्गानन्दको सम्झना गरे । त्यहाँ सहभागी कांग्रेसका जनकपुर नगर सभापति मनोजकुमार साहका अनुसार दुर्गानन्दकी श्रीमती काशीनाथ झालाई कांग्रेसले समानुपातिक सूचीमा राखेर सांसद बनाउन खोजेको थियो । तर, कांग्रेस छाडेर मधेसी दलमा सक्रिय वृशेषचन्द्र लालको जोडबलमा उनी तमलोपा प्रवेश गरेकी थिइन् । मनोज भन्छन्, ‘देशको प्रथम राष्ट्रपति यहाँकै हुनुभयो, कारण यहीँका दुर्गानन्द झाको योगदान हो । दुर्गानन्दजीकै समयमा गणतन्त्रका लागि खटिएका डा. लक्ष्मीनारायण झालाई ५० वर्षदेखि सरकारले अझै बेपत्ता बनाएको छ । उहाँको पनि खोजी हुनु जरुरी छ ।’
-नयाँ पत्रिका

Share.

Comments are closed.

error: Content is protected !!