जन्म र मृत्यु दर्ता गर्दा प्रोत्साहन रकम

0

मङ्गलबारे, (इलाम) ६ असोज:व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यले इलाम फाकफोकथुम गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाको हालै सम्पन्न दोस्रो गाउँसभाले जन्मदर्ता र मृत्युदर्ता समयमै गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको हो । व्यक्तिगत घटनालाई प्रोत्साहित गर्न ३५ दिनभित्रमा घटना दर्ता गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाले तोकिएको समयमा व्यक्तिगत जन्मदर्ता गर्दा प्रसुति स्याहार भत्तावापत रु तीन हजार र मृत्यु दर्ता गरेमा मृतक परिवारलाई रु पाँच हजार प्रोत्साहन रकम उपलब्ध गराउने छ । जन्म र मृत्युको जानकारी समयमै पाएमा घटना दर्ता प्रक्रियासमेत सहज हुने भएकाले प्रोत्साहन रकम उपलब्ध गराउन लागिएको हो, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले रासससँग भन्नुभयो, “यो प्रक्रिया चालु आवदेखि लागू भएको छ ।”

यस्तैगरी बिरामी र दीर्घ रोगीलाई पनि गाउँपालिकाले उपचार खर्च प्रदान गर्ने भएको छ । क्यान्सर रोगी, मृगौला पीडित, मुटु रोगी, ब्रेन ट्युमर तथा ब्रेन ह्यामरेज, प्यारालाइसिस भई हिडडुल गर्न नसक्ने, दुर्घटनामा परी अङ्गभङ्ग भएका तथा आगलागीमा परी अपाङ्गता भएका व्यक्तिलाई वार्षिक रु २० हजार र अन्य दीर्घरोगीलाई वार्षिक रु पाँच हजारका दरले उपचार खर्च उपलब्ध गराउने बताइएको छ । सम्बन्धित वडाको सिफारिसका आधारमा प्रोत्साहन रकम तथा उपचार खर्च उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गरेको यो निर्णयप्रति फाकफोकथुमबासी हर्षित भएको गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!