जडीबुटी खेतीबाट युवालाई रोजगारी : मन्त्री बस्नेत

0

काठमाडौँ, ६ जेठ: वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकार कर्णाली प्रदेशलाई जडीबुटीको हबकारुपमा विकास गर्नेगरी योजना निर्माणमा जुटेको बताउनुभएको छ । कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदसँग आज भएको सामूहिक भेटमा उहाँले कर्णालीका जिल्लामा जडीबुटी खेती तथा प्रशोधन केन्द्रमार्फत रोजगारीका अवसर सिर्जना गरिने बताउनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “कर्णाली प्रदेश जडीबुटी खेतीका हिसाबले मुलुककै सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो, कामका लागि मलेसिया र खाडी मुलुक जानुपर्ने बाध्यतामा रहेका युवालाई जडीबुटीको विकासमार्फत रोजगारी दिन सकिन्छ ।”

आगामी आर्थिक वर्षको बजेटमा जडीबुटीको नर्सरी र प्रशोधन केन्द्र स्थापनाका लागि बजेटको व्यवस्था गर्न लागिएको जानकारी गराउँदै उहाँले कर्णालीमा यार्सागुम्बा, जटामसी, टिमुर, कुरिलोलगायत बहुमूल्य जडीबुटी खेती गर्न सकिने र त्यसका लागि मन्त्रालयले टोली नै खटाएर अध्ययन गरिरहेको बताउनुभयो ।

भेटमा मन्त्री बस्नेतले कर्णालीको रारा क्षेत्रलाई आधार बनाएर पर्यटन पूर्वधार निर्माण गरिने, कर्णालीका हरेक वडामा एक उपस्वास्थ्य चौकी तथा गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिने बताउनुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!