गृह श्रमिकलाई परियोजनाबाट सहजता

0

काठमाडौँ, २९ पुस (रासस) : होमनेट नेपालले भूकम्प प्रभावित गृह श्रमिक र शहरका अति विपन्न नागरिकलाई रोजगारीमा पहुँच दिने उद्देश्यले शुरु गरेको ‘खाद्य सुरक्षा तथा जीविकोपार्जन परियोजना’ प्रभावकारी देखिएको छ ।

अनौपचारिक क्षेत्रका श्रमिक तथा शहरी गरिबको रोजगारी तथा स्वरोजगारीमा पहुँचको लक्ष्य राख्दै होमनेटले निःशुल्क रुपमा तालीम दिने र रोजगारी खोजी दिने गर्दै आएको छ ।

सो संस्थाले शहरी गरिबलाई विभिन्न किसिमको सीपमूलक तालीम दिई उनीहरुले उत्पादन गरेको सामग्रीलाई बिक्रीका लागि ललितपुरको इखालखुमा ‘होम क्रियशन’ नामको बिक्री केन्द्रसमेत खोलिदिएको छ ।

बिक्री केन्द्रले प्रत्यक्षरुपमा बजारमा सम्पर्क गर्न नसक्ने गृह श्रमिकका सामग्री किनीदिने र बजारको मागअनुरुपका उनीहरुलाई सामग्री उत्पादनका लागि वातावरण बनाइदिने गरेको परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत अमित अधिकारीले जानकारी दिनुभयो ।

श्रमिकले उत्पादन गरेको वस्तुमा बीचका व्यक्तिले फाइदा उठाउने र श्रमिकले श्रमको कम मूल्य पाउने अवस्था अन्त्यका लागि यो बिक्री केन्द्रले सहयोगी भूमिका खेल्ने उहाँको भनाइ छ ।

बिक्री केन्द्रमा टोपी, स्वीटर, पञ्जा, झोला, सजावटका सामग्रीलगायतका वस्तु राखिएका छन् । अक्सफाम नेपालको सहयोगमा परियोजनाले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका र शंखरापुर नगरपालिकामा परियोजनाको कार्यक्रम सञ्चालन गरेको छ ।

परियोजनाले ती स्थानमा भूकम्प प्रभावित र अतिविपन्न नागरिकलाई रु १५ हजार बराबरको आवश्यक उपकरणसमेत निशुल्क रुपमा दिने गरेको छ । जसमा सिलाइ मेशिन, बुन्ने काँटी, तौल लिने मेशिन, मूर्ति बनाउने औजार, हस्तकलाका औजारलगायतका सामाग्री दिने गरेको छ ।

हालसम्म एक हजार ११६ जनालाई प्रतिव्यक्ति रु १५ हजार बराबरको सो रकम दिई सकिएको परियोजनाले जनाएको छ । घर भूकम्पमा भत्किएपछि अहिले टहरामा बसिरहनुभएकी शंखरापुर, सुन्टोलकी पञ्चलक्ष्मी मानन्धरले भूकम्पमा आफ्ना सबै सिलाइबुनाइका सामग्री पुरिएको बताउनुभयो । परियोजनाबाट अहिले रु १५ हजार बराबरको बुन्ने सामग्री पाएपछि अहिले बुनाइको कामलाई निरन्तरता दिन सजिलो भएको उहाँले बताउनुभयो ।

यस्तै गृह श्रमिकको वित्तीय पहुँचका लागि सहकारीसँग आबद्धता गरी शंखरापुरमा ५० जना र धापाखेलमा ५० जनालाई गरी १०० जनालाई प्रतिव्यक्ति रु पाँच हजार बराबरको शेयर किनिदिनुका साथै उनीहरुलाई सहजरुपमा रु दुई लाखसम्मको बिना धितोमा सस्तोमा ब्याज दिने व्यवस्था परियोजनाले मिलाइदिएको छ ।

ललितपुर धापाखेलका सुन्दर लोहारले परियोजनाअन्तर्गत आफूले सहकारीबाट रु एक लाख बिना धितो ऋण पाएको र गरगहना पसलमा लगानी गरेको जानकारी दिनुभयो ।

यस्तै परियोजनाले सामूहिक उत्पादन केन्द्रका लागिसमेत सहयोग गर्दै आएको छ । कीर्तिपुरमा १० जना महिलालाई बेकरीसम्बन्धी तालीम दिई उनीहरुका लागि बाघभैरव बेकरी उद्योगसमेत परियोजनाले खोली दिएको छ ।

उद्योगका लागि नगरपालिकाको जग्गामा आवश्यक घर दुई कोठे घर बनाइदिनुका साथै निःशुल्करुपमा मेशिन र औजारसमेत किनिदिएको छ ।

तालीमको खोजीमा रहेकालाई तालीम दिने तथा रोजगारीको खोजीमा रहेकाको विवरण लिई रोजगारदाता संस्थासँग समन्वय गरी रोजगारी उपलब्ध गराउँदै आएको होमनेटका कार्यकारी निर्देशक ओम थपलियाले जानकारी दिनुभयो ।

हालसम्म करिब एक हजार सम्पर्कमा आएको र १२७ जनालाई रोजगारी खोजीदिएको परियोजनाले जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!