क्याटालोनिया विवाद: स्पेनका राजाद्वारा सहअस्तित्व स्वीकार गर्न आह्वान

0

पुस १०, स्पेनका राजा फिलिपे छैटौंले क्याटालोनियाको विषयलाई लिएर विवाद बढी रहेका बेला फेरि एकपटक एकताका लागि आह्वान गर्नुभएको छ । क्रिसमसको अवसरमा दिएको सन्देशमा राजा फिलिपे छैटौंले क्याटालोनियाका नागरिकसँग टकराव र विवादको साटो सहअस्तित्वको बाटो रोज्न आग्रह गर्नुभएको हो ।

क्याटालोनियामा बिहीबार भएको मध्यावधिक चुनावमा स्पेनबाट स्वतन्त्र हुने पक्षमा रहेका पार्टीले बहुमत सिट जितेपछि क्याटालोनियाको समस्या थप बल्झिएका बेला राजा फिलिपे छैटौंले एकताका लागि आग्रह गर्नुभएको हो । यसअघि गएको अक्टोबरमा भएको जनमतसंग्रहमा क्याटालोनियाको स्वतन्त्रताको पक्षमा मतदान भएको थियो । त्यसपछि पनि राजा फिलिपे छैटौंले एकताका लागि आह्वान गर्नुभएको थियो । यो जनमतसंग्रहलाई स्पेनको केन्द्र सरकार तथा संवैधानिक अदालतले अवैध घोषणा गरेको थियो ।

तर विवाद बढ्दै गएको पछि मड्रिड केन्द्र सरकारले क्याटालोनियाको सरकार भंग गर्दै शासन आफ्नो हातमा लिएर मध्यावधिक चुनावको घोषणा गरेको थियो । स्पेनको स्वायत्त राज्य क्याटालोनियाको संसदका लागि भएको मध्यावधिक चुनावमा स्पेनबाट अलग हुने पक्षमा रहेका पार्टीहरुको गठबन्धनले एक सय ३५ सिटको संसदमा ७० सिट जितेका छन् । द प्रो–इनडिपेनडेन्स पार्टिज टुग्यादर फर क्याटालोनिया (जेएक्सक्याट), रिपब्लिकन लेफ्ट अफ क्याटालोनिया (इआरसी) र पपुर युनिटी (सियुपी) ले गरी ७० सिटी जितेका हुन्, यो संसदमा स्पष्ट बहुमत हो । एकै पार्टीमा धेरै सिटी जित्ने दल भने स्वायत्त राज्यको रुपमा क्याटालोनिया स्पेनमै रहनु पर्ने पक्षमा रहेको सिटिजन्स पार्टी रहेको छ । सिटिजन्स पार्टीले ३७ सिट जितेको छ ।

चुनावमा स्वतन्त्रताको पक्षमा रहेका पार्टीको गठबन्धनले बहुमत सिटी जितेपछि स्पेनको केन्द्र सरकारलाई झड्का लागेको छ । आफूलाई स्वनिर्वाशनको घोषणा गर्दै बेल्जियममा बस्दै आउनुभएका स्वतन्त्र क्याटालोनिया अभियानका नेता कार्लेस पुइग्डेमोन्टले चुनावको नतिजाले स्वतन्त्रताको पक्षमा भएको जनमतसंग्रहलाई प्रमाणित गरेको बताउनुभएको थियो । उहाँले स्पेन केन्द्र सरकारसँग वार्ताका लागि आग्रह गर्नुभएकोमा स्पेनका प्रधानमन्त्री रारिएनो राजोयले अस्वीकार गर्नुभएको छ । मध्यावधिक चुनावपछि समस्या समाधान हुने अपेक्षा गरिएकोमा झन बढ्ने संकेत छ ।

स्पेनको उत्तर–पूर्वी तटीय क्षेत्रमा रहेको क्याटालोनिया आफ्नै भाषा तथा सँस्कृति रहेको एक स्वायत्त राज्य हो । यो स्पेनको सबैभन्दा समृद्ध र औद्योगिक क्षेत्र हो । स्पेनको अर्थ व्यवस्थामा क्याटालोनिया एक्लैको २२ प्रतिशत भन्दा बढी हिस्सा रहेको छ । स्पेनको कुल जनसंख्याको १६ प्रतिशत बसोबास क्याटालोनियामा छ ।

तर स्पेनको कुल ग्राहस्थ उत्पादनमा क्याटालोनियाको भूमिका १९ प्रतिशत तथा निर्यातमा २५ प्रतिशत रहेको छ । स्पेन आफैमा एक महासंघ मात्रै नभएर धेरै हदसम्म विकेन्द्रिकृत एकीकृत देश हो । स्पेनभित्र जम्मा १७ स्वायत्त क्षेत्र छन्, ती सबैका आ–आफ्नै झण्डा र सरकार छन् ।

Share.

Comments are closed.

error: Content is protected !!