कैलालीमा उत्पादित धानको बीउ देशभर

0

कैलाली, लम्की, २६ भदौ  : जानकी गाउँपालिका–४ मुनुवास्थित एक सहकारीले उत्पादन गरेको बीउ मुलुकका विभिन्न जिल्लामा बिक्री वितरण हुन थालेको छ ।

बीज वृद्धि कृषक सहकारी संस्था मुनुवाले गत आवमा झण्डै दुई हजार क्विन्टल धानको बीउ मुलुकका अन्य जिल्लामा बिक्रीका लागि पठाएको हो । सहकारीले सो परिमाणको बीउ बिक्री गर्न कञ्चनपुर, बर्दिया, बाँके, चितवन, बुटवल, दाङ, सुर्खेत, दैलेख, डोटी र डोल्पा पठाउँदै आएको छ । सो सहकारीले गहुँ, मसुरो, तोरी र केराउको बीउसमेत उत्पादन गर्दै आएको छ ।

सहकारीका अध्यक्ष रामफल बडायकका अनुसार ८० हेक्टर जमीनमा धान, ९० हेक्टरमा गहुँ, चार हेक्टरमा मसुरो, १० बिघामा तोरीको बीउ तथा एक हजार ८०० क्विन्टल गहुँकको बीउ उत्पादन गरेको छ । गहुँको बीउ अन्य जिल्लामा बिक्री गरिँदै आएको छ । “हाम्रो बीउले किसानको विश्वास जितेको छ,” अध्यक्ष बडायकले भन्नुभयो । चार वर्षअघिसम्म ४०० क्विन्टल बीउ उत्पादन हुने गरेको थियो । अहिले गहुँ र धान पाँच हजार क्विन्टलसम्म उत्पादन हुन्छ ।

सहकारीसँग दुई ग्रेडिङ मेशिन, एक हजार आठ क्विन्टल क्षमताको एउटा तथा पाँच÷पाँच सय क्विन्टल क्षमताका दुई गोदाम रहेको छ । कृषि व्यापार आयोजना प्याक्ट र कृषि विकास कार्यालयले एउटा÷एउटा तथा अर्को गोदाम रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोगमा निर्माण गरिएको हो । हाल सो सहकारीमा ५४ कृषक आबद्ध छन् । कृषकले एक बिघादेखि पाँच बिघासम्ममा खेती गर्दै आएका छन् । विसं २०५७ मा ५४ कृषकको समूहले बीउ उत्पादन थालेको हो । विसं २०६२ सालमा दर्ता भएको उक्त सहकारीले बीउ उत्पादनसँगै कृषकलाई व्यावसायिकसमेत बनाएको छ ।

“कृषकले उत्पादन गरेको बीउ जिल्ला समन्वय समितिले निर्धारण गरेको मूल्यमा खरीद गर्ने गरेका छौँ,” अध्यक्ष बडायकले भन्नुभयो, “सुपथ मूल्यमासमेत बेच्ने गरेका छौँ । यसले सबैलाई राहत पुगेको छ ।” सहकारीलाई क्षेत्रीय कृषि अनुसन्धान केन्द्र नार्क खजुरा, बाँकेले निःशुल्क बीउ उपलब्ध गराउने गरेको छ । “सहकारीले निःशुल्क पाएको बीउ सहकारीमा आबद्ध किसानलाई निःशुल्क वितरण गर्छौँ,” व्यवस्थापक गोविन्दराज रावतले भन्नुभयोे ।

पछिल्लो समय किसान जग्गा भाडामा लिई खेती गर्न थालेका छन् । स्थानीय कृषक दिलीप रावत तीन बिघा जमीन भाडामा लिई गहुँखेती गर्दै आएको बताउनुहुन्छ । “बजारको समस्या छैन । बीउ पनि सहकारीमै किन्न पाइन्छ । उत्पादन पनि सहकारीले नै किनिदिन्छ ।” सहकारी स्थापना भएपछि मुनुवाका किसानले कृषिलाई मुख्य पेशा बनाएका छन् ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषितर्फका बागवानी अधिकृत पुष्पराज खनालका अनुसार सो आयोजनाको क्षेत्रमा झण्डै ५० कृषि सहकारी छन् । पाँच सहकारीले बीउ वृद्धिको काम गरिरहेका छन् । सहकारीलाई साविकको मुनुवा गाविसले नौ कट्ठा जमीन उपलब्ध गराएको छ । त्यही जमीनमा सहकारीले गोदाम र सहकारी सञ्चालन गर्दै आएको छ । दुर्गा देवकोटा, रासस

Share.

Comments are closed.

error: Content is protected !!