कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति गठन

0

सुर्खेत, ३० भदौ: कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति गठन गरेको छ । प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले डा भगवान कोइरालाको संयोजकत्वमा सात सदस्यीय स्वास्थ्य परामर्श समिति गठन गरेको हो । गठित समितिमा डा अर्जुन कार्की, डा सेनेन्द्रराज उप्रेती, डा सुरेश तिवारी, डा डम्बर खड्का, डा मङ्गल रावल र डा तीर्थ थापालाई सदस्यमा चयन गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

बैठकले सिम्ता गाउँपालिकाको केन्द्र विवाद निरुपण गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिश गर्ने र हिमा गाउँपालिका जुम्लाको केन्द्र विवाद समस्या समाधानार्थ मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाउने निर्णय गरेको कानूनमन्त्री भण्डारीले बताउनुभयो । त्यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक सेवा प्रसारण विधेयकको मस्यौदालाई सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको सार्वजनिक निर्माण र परामर्शसम्बन्धी काम सङ्क्षिप्त कार्यविधिबाट गर्ने प्रस्ताव पारित भएको उहाँले जानकारी दिनुभयो ।

कानूनमन्त्री भण्डारीका अनुसार सामाजिक विकास मन्त्रालयबाट प्रस्तावित सङ्गठन संरचना तथा दरबन्दी तेरिज नेपाल सरकारबाट स्वीकृत भई नआउँदासम्म संलग्न सङ्गठन संरचना र दरबन्दीअनुसार कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ । “प्रदेशका स्वीकृत दरबन्दीका कर्मचारी शीघ्र खटाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ,” उहाँले भन्नुभयो ।

बैठकले तत्काल कर्मचारी खटाउन नसक्ने अवस्थामा चालू आवको बजेट कार्यान्वयन गर्न आवश्यक प्राविधिक कर्मचारी सेवा करारमा लिनका लागि अनुरोध गर्ने निर्णय गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐनको दफा, १०५ अनुसार गठित कर्णाली प्रदेश समन्वय परिषद् बैठक असोज १९ र २० गते आयोजना गर्ने निर्णयसमेत भएको मन्त्री भण्डारीले बताउनुभयो ।
रासस

Share.

Comments are closed.

error: Content is protected !!