कट्बारी पर्व रमाउँदै थारु समुदाय

0

भीमदत्तनगर, १ असोज : धार्मिक एवं सांस्कृतिक महत्व बोकेको थारु समुदायको अट्वारी पर्व पश्चिम नेपालका थारु समुदायले धुमधामका साथ मनाउँदै छन् । भाद्र शुक्ल पक्षको पहिलो आइतबारअर्थात् श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबारलाई अट्बारी व्रत बस्ने परम्पराअनुसार थारु समुदायले अट्बारी पर्व मनाइरहेका हुन् । दुई दिनसम्म मनाइने अट्बारी पर्वमा हिन्दू महिलाको महान् चाड हरितालिका तीज पछिको शनिबार मध्यरातिमा दर (भिन्सर्या) खाएर थारू समुदायको विधिवतरूपमा पर्वको शुरुवात हुने गरेको छ ।

अट्बारी पर्व मनाउनेबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको भीमदत्तनगरपालिका–१८ भगतपुरका बेदप्रकाश चौधरीले बताउनुभयो । द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ । त्यस्तै, अर्को थरी मतअनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ ।

भीम नेपालको सुर्खेत जिल्लामा रहेको काक्रेविहार घुम्न आएका बेला शत्रुबाट राजा दंगिशरण चौधरी माथि आक्रमण भएको थियो । त्यतिबेला रोटी पकाइरहेका भीमले काम छोडेर भोकभोकै राजा दंगिशरणलाई सहयोग गरेका थिए भन्ने किम्वदन्ती रहेको छ । भीमदत्तनगरका बेदप्रकाश चौधरीले निर्मला काण्डले गर्दा यस पर्वको रौनकमा कमी आएको बताउनुभयो ।

त्यसैगरी कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ का जयराम चौधरीले अट्बारीको रौनकता गाउँमा छाएको बताउनुभयो । “यो हाम्रो माघीपछिको दोस्रो ठूलो पर्व हो ।” उहाँले भन्नुभयो, “दशौँ पुस्तादेखि अट्बारी पर्व मनाउँदै आएका छौँ ।” आइतबार दिन भर व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अन्दीको रोटी खाने गर्दछन् । व्रत बसेका वर्तालुले फलफूललगायतका पकुवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने चलन छ ।

अट्बारीको दोस्रो दिनअर्थात् आज बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गव्दा र तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी व्रतालुले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । पूजापाठपछि व्रतालुले आफ्नो खानाको परिकारबाट आधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन रहिआएको छ । आज बिहानको भोजनलाई थारूभाषामा ‘फ्राहार’ भनिन्छ ।

अघिल्लो दिन (आइतबार) र दोस्रो दिन (सोमबार) व्रतालु दाजुभाइले आफूले खानुपूर्व दिदीबहिनीको लागि फलफूल तथा खानाका परिकारबाट छुट्याएको परिकार विवाहित छोरीचेलीलाई यसै दिन दिने चलन छ । विवाहित छोरीचेलीले दाजुभाइले आफ्नो भागबाट दिदीबहिनीका लागि राखेको खानाको परिकारलगायतका पकुवानसहितको कोसेली आउँला भनेर दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनी यसै पर्वको अवसरमा दाजुभाइसँग भलाकुसारी गर्ने मौका पाउँछन् ।

सम्बन्धको प्रतीकका रुपमा समेत रहेको पर्वका बेला घर बाहिर रहेका परिवारका सदस्य र आफन्त एकठाउँमा जम्मा हुने गरेको थारू पत्रकार सङ्घका जिल्ला अध्यक्ष धनबहादुर कुश्मीले जानकारी दिनुभयो । “अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिन प्रचलन यो पर्वमा छ ।” अध्यक्ष कुश्मीले भन्नुभयो, “थारू पर्व, कला संस्कृतिका संरक्षणमा सरकारले पनि थप सहयोग गर्नु आवश्यक छ ।” अट्बारी पर्व पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाका थारू समुदायले मनाउने गरेका छन् ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!