ए डिभिजन क्लबलाई कामपाको सहयोग

0

काठमाडौँ,२५ भदौ: काठमाडौँ महानगरपालिकाले जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लबलाई करीब रु ५६ लाख आर्थिक सहयोग गरेको छ ।  कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । प्रत्येक क्लबलाई रु नौ लाख ३० हजारको दरले रकम हस्तान्तरण गर्नुभयो । रकम लिने क्लबमा नमूना मछिन्द्र, संकटा, एनआरटी, हिमालय शेर्पा, सरस्वती युथ र मनाङ्ग मस्र्याङ्दी क्लब छन् ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले सबैभन्दा लोकप्रिय खेल फुटबलको विकास र वृद्धिका लगि कामपाले सानो सहयोग गरेको बताउँदै क्लबहरुले उत्कृष्ट खेल खेलेमा आगामी दिनमा रकम थप्दै जाने विश्वास दिलाउनुभयो । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको फुटबल क्षेत्रको विकासका लागि यो कोसेढुङ्गा भएको जिकिर गर्नुभयो ।

मनाङ्ग मस्र्याङ्दी क्लबका अध्यक्ष कान्छामुखिया गुरुङले पछिल्लो समय क्लबहरुलाई नियमित रुपमा खेल सञ्चालन गर्न आर्थिक रुपमा नै कठिन हुँदै गएकाले कामपाको सहयोगले केही टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा कामपाले प्रत्येक क्लबलाई फुटबल खेल्दा लगाइने पोशाक पनि वितरण गरेको थियो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!