एशियाली विकास बैंक प्रतिनिधिद्वारा नदीको निरीक्षण

0

भद्रपुर, ३० पुस (रासस): झापाको विरिङ नदीबाट नहरको योजना सञ्चालन गर्न एशियाली विकास बैंकका प्रतिनिधिले आज सो नदीको निरीक्षण एवं अवलोकन गरेको छ ।

एशियाली विकास बैंक प्रतिनिधिको नेतृत्व गर्दै बैँकका तर्फबाट प्रदीपराज पाण्डेसहित सिँचाइ विभागका योजना निर्देशक नुर मोहम्मद खान, पूर्वाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालयका निर्देशक मोहनकुमार शाक्य र सिँचाइ डिभिजन कार्यालय, भद्रपुरका प्रमुखसहितको टोलीले योजनास्थलको स्थलगत निरीक्षण, अवलोकन एवं अध्ययन गरेको हो ।

धेरै पहिलेदेखि एशियाली विकास बैंकको छनोटमा परेको सो नदीबाट बनिने नहर जिल्ला समन्वय समिति, झापाका कारण ढिलाइ भएको टोली प्रमुख पाण्डेले बताउनुभयो । नदीबाट जथाभावी उत्खनन हुने गिटी, बालुवा र ढुंगाका कारण नदी गहिरिएर जाने र योजना सञ्चालन हुने स्थानमा पानीको वहाव कम हुने कारणले योजना अलपत्र पर्ने भयले सो योजना अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

गएको वर्षदेखि स्थानीय जनताले नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लगाएपछि बैंकको विश्वास बढ्न गएकाले यो योजनाको अन्तिम अवलोकन भएको हो । चारवटा पैनीलाई एकीकृत गरी बनिने सो नहरमा कुल रु २० करोड खर्च हुने र यसका लागि नेपाल सरकारलाई एशियाली विकास बैंकले रकम उपलब्ध गराउने भएकाले योजनाका विषयमा स्थानीय जनताको धारणा बुझ्न पनि योजनास्थलको अध्ययन एवं अवलोकन गरेको सिँचाइ विभागका योजना निर्देशक खानले बताउनुभयो ।

करिब एक हजार ६४ हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले तयार गरिएको नापनक्शा देखाउँदै सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीले यो योजना सम्पन्न भएमा यस क्षेत्रका करिब दुई हजारभन्दा बढी घरधुरी लाभान्वित हुने जानकारी दिनुभयो ।

सो अवसरमा बुद्धशान्ति गाउँपालिका वडा नं १ र २ का वडा अध्यक्ष भीमकुमार नेवार र दिलीप श्रेष्ठले यो योजनाको कार्यान्वयन तर्फ एशियाली विकास बैंकका प्रतिनिधिलाई आग्रह गर्दै जनताको जीवन र मरणसँग गाँसिएको यो नदीको पानी आफ्ना खेतमा लैजान अब कुनै पनि हालतमा नदीमा उत्खनन गर्न नदिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँहरुले यसका लागि एशियाली विकास बैंकलाई लिखित प्रतिबद्धता दिने र योजना सञ्चालन गर्न कुनै पनि द्विविधामा नरहन आग्रह गर्नुभयो । एकीकृत विरिङ खोला, लक्ष्मी, कार्की, गिद्धे र विर्ता मूल पैनी तथा सिँचाइ योजना उपभोक्ता समितिका अध्यक्ष अग्निप्रसाद उप्रेतीले २०२२ सालदेखि यहाँका किसानले आफ्नो बलबुतामा नदीको पानी खेतमा लगिरहेको र अब पनि यसरी दुःख गर्न सक्ने अवस्था नरहेकाले योजना सञ्चालन एवं स्वीकृतिका लागि एशियाली विकास बैंकका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

स्थानीय कृषकसँगको छलफल एवं परामर्शको सन्दर्भमा योजनाका कोषाध्यक्ष दिवा सापकोटा, संस्थापन अध्यक्ष देवी बजगाइँ, नेपाल पैनीका अध्यक्ष नरबहादुर पोर्तेल, शिव गिरी, मैया पोखरेल र स्थानीय ठाकुरप्रसाद श्रेष्ठले नदीको पानी व्यवस्थापन गर्न तथा नदी कटान तथा डुबानबाट जोगिन पनि सिँचाइको योजना सञ्चालन हुनुपर्ने माग गर्नुभयो ।

सोही अवसरमा टोली प्रमुख पाण्डेले देशभरमा पहिलो, दोस्रो र तेस्रो चरणको कामअन्तर्गत एशियाली विकास बैंकबाट ंिसँचाइ क्षेत्रमा रु सात अर्बका योजना सञ्चालनमा रहेका र अहिले तेस्रो चरणको कामअन्तर्गत रु ६३ करोड बाँकी रहेकाले यो योजना सञ्चालनमा ल्याउन स्थानीय जनताले नदीजन्य पदार्थहरु उत्खनन् गर्न नदिन कडाइका साथ लाग्नुपर्ने बताउनुभयो ।

विगतमा सो नदीलाई जिल्ला विकास समितिले ठेक्का लगाउँदा ठेकेदारले मापदण्ड विपरित काम गरेका कारण ठेकेदारलाई नदीबाट धपाएका थिए भने यसवर्ष पनि ठेकेदारले नदीजन्य पदार्थ निकाल्न अनेक प्रयास गरिरहेको र स्थानीय जनताको जागरुकताले खोलामा स्काभेटर लान नसकेको पाइएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!