एकबारको जुनीमा भाँडा टल्काउँदै छु : चर्चित साइकल यात्री पुष्कर शाह

0

दोलखामा जन्मेर पुष्कर शाहले साइकल यात्रीका रुपमा नेपाल चिनाए। उनले तय गरेको यात्राले संसारलाई साढे पाँच फन्को मारेको छ। पर्यटन बोर्डले करौडौ खर्च गरेर गर्न नसकेको देशको प्रचार यिनले पटक पटक गरे।साइकलमा नेपालको राष्ट्रिय झण्डा बोकेर विश्वमा शान्तिको संदेश फैलाउँदै नेपाल चिनाए।

साइकल चढेर विश्वलाई पाँच फन्को मार्ने उनै पुष्कर शाह यतिखेर कहा के गर्दे छन न मुलुकलाई थाहा छ न त राज्यसत्ताका साझेदारलाई। देश चिनाउन उनले नेपालको झण्डा बोकेर दुई लाख एक्काईस हजार किलोमिटर साइकलमै पाइडल मारे।संसारलाई फन्को मार्दै आफ्नो यात्रालाई किताबमा उतारेका पुष्करको पछिल्लो बिसौनी अष्ट्रेलिया भएको छ।’विकल्प अष्ट्रेलिया’- उनको रहर होइन, बाध्यता हो।

जुन कुरा उनले आफ्नो फेसबुकमा लेखेको पीडाबाट सजिलै अनुभव गर्न सकिन्छ। गत हप्ता पुष्करले फेसबुकमा पोखेको पीडाले यस्तै बयान गर्छ।चार हजार पन्ध्र दिनको साइकल यात्रामा संसारका एक सय पचास देश डुलेर संसारलाई पाँच फन्को मारेर संसारको अग्लो हिमाल सगरमाथाको सफल आरोहण गरेका पुष्करले आफ्नो पीडा भने छिचोल्न, चढ्न सकेनन्। उनका समस्या ज्यूँको त्यूँ रहे।

‘साइकलको पाँग्रामाथि जीवन दाऊमा राखेर राष्ट्रिय झन्डा बोकेको दुई दशक बित्यो तर राज्यले न कुनै स्थायित्वको टेवा दियो न बसोबासको सेवा नै’, पुष्कर आफ्नो पीडा पोख्दै भने, ‘त्यसैले घर परिबार जिम्मेबारी सोचेर अस्ट्रलियामा भाडा हान्दैछु।’ पुष्कर सिड्नीबाट ५०० किलोमिटर पर अल्बरीको रेष्टुरेन्टमा काम गर्छन्। उनी यता आएको यस्तै एक-डेढ महिना भएको छ।

जीवनको पछिल्लो कर्मका बारेमा उजागर गर्दै उनले सेतोपाटीसँग भने,’२०४६ सालको जनआन्दोलनमा बहुदलवादको समर्थनमा आन्दोलनमा होमिदैं गर्दा घाइते पनि भएँ । म कुनै दलको परिन , मुलुकको नाम जोडने कामसम्म मात्र लागिरहे, कुनै पार्टीको सदस्य नहुँदा मेरो कुनै मूल्याकंन भएन।’ चैत्र २४ गते दरबारमार्गमा प्रहरी हानेको गोलीले दाहिने हात छेडेको सम्झना उनको स्मृतिमा सबैभन्दा आलो छ।

भन्छन्, ‘ त्यत्रो ४६ सालको योद्धा , तर पटक-पटक भन्छन् हाम्रो पार्टीको सदस्यता लिनुपर्यो भनेर। तर म परे नेपाल पार्टीको मान्छे।’ उनलाई सोधिएको पनि हो, ‘ऐलेसम्म पार्टी सदस्यता लिनु भाको छैन?’ तर पुष्करलाई योसँग विमति थियो। ‘म ४६ सालदेखि नै सबैलाई नजिकबाट चिन्छु ! उनै हुन् मलाई गुच्चा र गुलेली बोकाएर जनआन्दोलनमा होमिन सिकाउने ! देशको झन्डा बोक्नेले पार्टीको झन्डा बोक्दैन।’ सदस्यता लिनुभएन भनेर सोध्नेलाई पुष्करले यहि जवाफ फर्काउँदै आएका छन्।

त्यसैले पुष्करलाई लाग्छ उनी यही कारण आजको मितिमा रोजीरोटीका लागि मुग्लान भाषिनु परेको छ। माटोको माया त पुष्करको छातिमै छ तर पछिल्लो समय त्यसलाई सिरानी हालेका छन्।’म माटोलाइ माया गर्ने मान्छे तर अब ‘मुलुक की परिवार?’ भन्ने विषय गम्भीर भयो त्यसैले माटोको माया सिरानीमा राख्दै यता डोरिए’ उनले आफ्नो हाल विस्तार लगाए, ‘मेरो अनुभवले मेरो माटोमा उपयोग नहुने निस्कर्ष निस्कियो। त्यसै ऐले अस्ट्रेलियामा भाँडा टल्काउदैछु।’

पुष्कर जस्ता प्रतिभाहरु राज्यको संरक्षणमा रहन नसक्दा एउटा आफ्नो फरक परिचयको बाटो छिचोलेर पनि पलायनको वाटो रोज्न बाध्य छन्। त्यसो त पुष्करले कथा पनि लेखे। उनले लेखेको ‘संसारलाई पाँच फन्को’ले नेपाली साहित्यको यात्रा वर्णनमा निकै राम्रै चर्चा पनि कमायो तर उनी आज बाध्यताले लखेट्दै घचेटेको बाटोको यात्रा गर्न बाध?य छन्। उनको फेसबुक स्टाटस पढ्दा त्यो बाहेक अन्यथा भन्ने ठाँउ छैन्। पढ्नुस पुष्कर शाहको फेसबुकको संपादित अंश:

११ वर्षमा साइकलबाट संसारलाई साढे पाँच फन्को लगाएर नेपाल फर्केर सगरमाथाको सफल आरोहण गरेको ७ बर्ष बितेछ ! यात्रा सकेर नेपाल फर्केको ७ वर्षपछि मेरो देशको सरकार प्रमुखलाई भेट्ने सुअवसर मिल्यो ! सम्माननीय ज्युको स्वकीय सचिवले मेरो परिचय गराउनु भो !

” ए पुस्करजीलाई त म चिनिहाल्छु नि” सम्माननीयले गर्व साथ बोल्नु भो !

म खुशीले गदगद भएँ !

“अनि भन्नुस पुस्करजी”

सम्माननीयको आग्रहले म बोलें

जीवनका स्वर्णिम वैंशहरु

११ बर्ष

४०१५ दिन

दुई लाख एक्काइस किलोमिटर

साइकलको पांग्रा माथि जीवन र मेरो देशको झन्डा बोकेर

१५० देश

संसारलाई साढे पाँच फन्को

त्यसपछि संसारभरिको झन्डा बोकेर

सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड बनाए !

अनि ? सम्मानीयले सोध्नु भो !

” संसारलाइ साडे पाँच फन्को पुस्तक लेखें “

” वाउ ! ” सम्माननीय ज्यू दङ्ग पर्नु भो !

” म २०४६ सालको जन आन्दोलनको घाइते पनि हो , चैत्र २४ गते दरबारमार्गमा प्रहरीको गोलीले दाहिने हात छेडेर गएको थियो !

वीर अस्पतालले मृतक घोषित गरेर मेरो नाम शहिदको सुचीमा छ ! “

भन्दैथें , भन्दैथें , सम्माननीय ज्यु त अघि नै ढलेछन् ! स्वकीय सचिव र सुरक्षा गार्डहरुले खै के के सुँघाएर , पानि छम्केर होशमा ल्याए ! मेरो उग्रक्षमता देखेर डराएछन् क्यारे।

” त्यत्रो ४६ सालको योद्धा , जिउँदो शहिद, ऐलेसम्म पार्टीसदस्यता लिनु भाको छैन ? “

घर फर्केको साँझ स्वकीय सचिवले मलाई फोनमा सोधे !

उनलाई म ४६ सालदेखि नै नजिकबाट चिन्छु ! उनै हुन् मलाई गुच्चा र गुलेली बोकाएर जन आन्दोलनमा होमिन सिकाउने !

” देशको झन्डा बोक्नेले पार्टीको झन्डा बोक्दैन ” मैले उनलाई सुनाएँ ! त्यसपछि मेरो डुलुवा अनुभव मेरो माटोमा उपयोग नहुने निस्कर्ष निस्कियो !

आमाले मलाई माटो र पसिनालाइ माया गर्न सिकाइन ! म माटोलाइ चट्टकै माया मारेर पसिनालाइ माया गर्न हिडें !

ऐले अस्ट्रेलियामा भाँडा टल्काउँदैछु ! एकबारको जुनीमा !

Share.

Comments are closed.

error: Content is protected !!