“उ अर्कैको लोग्ने म अर्कैकी दुलही” संसारकै अनौठो प्रेम कथा !

0

हामीबीच विशेष खालको मित्रता थियो। उ मसँग घण्टौ कुराकानी गरेर बिताउन सक्थ्यो। हाम्रो काम फुर्सदको समय भेटेर चिया पिउँदै कुरा गरेर बित्थ्यो। हामी कहिले गोदावरीमा जान्थ्यौं। फुल र भमराको पिरतीको इतिहास रच्थ्यौं। कहिले पशुपतिनाथको मृगस्थली बनमा गएर जीवन र मृत्युको अघोषित युद्धको चर्चा गथ्र्यौं। कहिले सेतो गुम्बामा गएर त्यसको सुन्दर वातावरण अनि बुद्धको ज्ञानको समागम गर्न खोज्थ्यौं। कहिले काही स्वप्न बगैँचामा गएर आफ्नो जीवनको सपनामा त्यो बगैँचालाई नै सार्न प्रयास गथ्र्यौं। म कहिले उसले गीताको आध्यात्मिक कुरा सुनाउँदै ज्ञानको चुलीमा पुर्याउँथ्यो। कहिले महाभारतभित्र घुसेर कृष्ण र राधाको प्रेममा बिलिन गराइदिन्थ्यो। कहिले वानिरा गिरीको कारागार भित्र लगेर मलाई जबरजस्ती कैदी बनाउँथ्यो।

कहिले सुम्निमामा हराउँदै उसको शरीरलाई आफ्नो बनाउन अनि उसको प्रेम पाउन मन लाग्थ्यो। म चाहिँ उपन्यास बाहिरको सोमदत्त भएर ज्ञान, तप, जप र ध्यानका कुरा गरेर उसलाई पुन जागृत गराउँथें। हाम्रो अनौठो मित्रताले जीवनको रंग नै बदलिदिएको थियो। हाम्रो यो मित्रतालाई धेरैले प्रेमको उपनाम नदिएका पनि होइन। सत्य भन्नुपर्दा मैले उसलाई प्रेम नगरेको पनि होइन। तर उ मेरो एकदमै मिल्ने साथी थियो तर अरु कसैको लोग्ने। हो उ मलाई साथी सम्झन्थ्यो अनि अरु कसैलाई जीवनसाथी।

‘म यो कानुनसानुन मान्दिनँ। तिमीलाई पनि बिहे गरेर लग्छु। घरकी मेरी जीवनसाथी। तिमी मेरी मनकी साथी। म भावनामा तिमीसँग हराउन चाहन्छु। हिँड घर जाउँ।’ उ साँच्चै भन्थ्यो या जिस्कन्थ्यो। म भने उसलाई जिस्काउँथे –बहुबिवाहमा पर्नुहोला है। सरकारी जागिर पनि चेट। मिलेको घर पनि चेट। उ मुस्कुराउँथ्यो मात्र। उसले प्रेम विवाह गरेको थियो। मैले उसकी उनीसँग कहिले भेटिनँ। हाम्रो भेट हुनु पहिला नै उसको बिहे भइसकेको थियो। उसँगको मेरो भेट अप्रत्यासित थियो र अविश्मरणीय पनि। एउटा पुस्तक प्रदर्शनीमा उ दर्शनका केही किताब बारे सोध्दै थियो। हेर्दा उमेर भर्खरको तर पुस्तकको नाम सुन्दा कुनै ब्रुजक मान्छे झैं लाग्ने।

प्रदर्शनीमा पुगेकी मेरो किन हो उसैतिर तानियो। उसले मलाई देख्ला अझ भनौ उसले मेरो हातको किताब देख्ला भनेर मैले भर्खर बजारमा चलेको एउटा रोमान्टिक प्रेम उपन्यासलाई राखेर हत्त न पत्त सुम्निमा समातेको थिएँ। साँच्चै उसले मलाई देख्यो, अनि मेरो हातको किताब पनि। ‘आहा तपाईं यो पुस्तक किन्दै हुनुहुन्छ। बडो राम्रो छ यो पुस्तक। मैले १२ पटक पढिसकें हुँला।

तपाईं एकपटक शिरीषको फूल पनि पढ्नुहोला। म त पुस्तक पढ्दा पढ्दै सकम्बरीको मायामा डुबिसकेको छु।’ यति भनेर उ मुस्कुरायो। चिन्नु न जान्नुको मान्छे मसँग उनी यसरी कुरा गर्दै थिए कि लाग्थ्यो हामी वर्षौंपछि भेटिएका साथी हौं। उसको कुरा सुनेर म फिस्स हाँसें। ‘हवस् त’ भनेर उ त्यहाँबाट हिँड्यो। त्यसपछि मैले सुम्निमा र शिरिषको फूललाई आफ्नो सोचले पढें र त्यो अजनबीको सोचले पढे। साँच्चै मलाई पनि सकम्बरी बन्न मन लाग्यो र कहिले सुम्निमा बन्दै सोमदत्त भेट्टाउन मन लाग्यो। त्यतिबेला म लोकसेवा आयोगको तयारी गरिरहेकी थिएँ। आयोगका किताबलाई आफूले पढेका साहित्यसँग तुलना गर्थें र सम्झने प्रयत्न गर्थें। विश्वव्यापीकरणमा भारतको राम र नेपालकी सीताको विवाहलाई जोड्थें। गरिबीका बारे पढ्दा म सुदामाको गरीबी र कृष्णसँगको मित्रता सम्झन्थें। समावेशीकरण पढ्दा दमिनी भीरको गन्थनलाई पिछडिएको जातीमा दाँज्थे। राज्य र शासन पढ्दा राजा बन्ने मोह छोडेर ज्ञान खोज्न हिडेका बुद्ध सम्झन्थें। सँगै वियोगमा परेकी यशोधरासँगै रुन्थे। तयारी राम्रै भएछ।

म आयोग पास गरेर सरकारी जागिर खाने भएँ। ६ महिने तालिम सकाएर म शाखा अधिकृतको पद थपेर उर्जा मन्त्रालयमा पदस्थापन गरेर पुगें। कोठा बाहिर टाँगिएको मेरो नेम प्लेट देख्दा गर्वले छाति ढक्क फूल्यो। भित्र एउटा कुर्सीमा त्यही अजनबी बसेको देखेर म छक्क परें। ‘नमस्कार’ मैले हात जोड्ने बितिक्कै आश्चर्यचकित परेर उस्ले मेरो नमस्ते फर्कायो। मैले आफ्नो परिचय दिएँ– सर म नवनियुक्त शाखा अधिकृत सम्झना पराजुली। ‘ए बस्नुहोस म उप सचिव दिवाकर सत्याल।’ उस्ले भन्यो। त्यो दिन पनि झण्डै दुई वर्ष अघिको पो थियो त आजभन्दा। भर्खर विवाह गरेको भन्थ्यो मलाई। सकम्बरीका गुण त कुनै पनि छैनन् तर म सुयोगवीर र उनी सकम्बरी नै हो भन्दै हाँस्थ्यो घरी घरी। कहिले मेरी कविताले यो खान खोजी कहिले कविताले यस्तो भनी कहिले कवितालाई यस्तो भयो भनेर सुनाउथ्यो।

मलाई लाग्थ्यो म नै कविता हुँ र उ जे जे भनिरहेको छ सबै मेरै बारे भनिरहेको छ। मलाई मनमनै हाँसो उठ्थ्यो– उसकी कविता गर्भवती भएकी छन् भन्ने सुनेर। पुरुषको स्वभाव, यौवनले भरिएकी युवतीसँगको उठबसले उसको मनमा पनि पाप पलाउँथ्यो सायद। एक दुई भेटमा उसले मनको दुरी नरहेपछि शरीरको दुरीको अर्थ रहन्न पनि भनेको थियो। तर म नेपाली संस्कृतिमा हुर्किएकी नारी। सजिलै अरुको लोग्नेलाई आफ्नो शरीर सुम्पन कहाँ सक्थे र। म उसको आग्रह सहर्ष अस्वीकार गर्थें। उसले पनि कुरा अन्तै मोदिन्थ्यो। र त हामी असल साथी नै भएर बस्न सक्यौं। यसले उठ्दा बस्दा अन्जानमा भएका स्पर्श बाहेक मलाई छोएको पनि थिएन। कुनै कुनै दिन त म उसको मायामा यति कमजोर भएकी हुन्थें कि उसले मलाई अंगालीदिए हुने, एउटा न्यानो चुम्बन दिए पनि हुने नि भनेर सोच्थें पनि। अर्को मनले म त उसकी साथी मात्र हुँ उसकी जीवनसाथी त अरु नै छ सोचेर लत्रक्क पर्थें। सरकारी जागिर खाएकी भए पनि बढेकी छोरीलाई घरमा राख्दला खुशी हुन नसक्ने आमा बाबाको मन। यता मलाई पनि जीवनमा के के नपुगेको जस्तो लाग्थ्यो।

‘दिवाकरको साथले साथी पो पाएँ त खोई जीवन साथी।’ म सोच्थें। उसकी जीवनसाथीको आमा बन्ने समाचार सुन्दा ममा मातृत्व नजागेको होइन। तर अविवाहित आमा यो त मबाट हुनै सक्तैनथ्यो। केही समय पछि सरुवा भएर उ मन्त्रालयबाट गइसकेको थियो। तर मेरो मनबाट कहाँ जान सक्थ्यो र। दिनमा एकपटक भेट, २ पटक फोन, ४ पटक म्यासेज त दैनिकी नै भएको थियो। यता घरमा मेरो बिहेको कुरा निक्कै अगाडि बढिसकेको थियो। त्रिभुवन विश्व विद्यालयमा नेपाली पढाउने त्यो अग्लो कदको गोरो मान्छे नै मलाई पनि ठीकै लागेको थियो। उसले पनि मलाई मन पराउनु भयो। हाम्रा केही कफी गफ भए, ती गफ मेरो साथीसँगको जस्तो मिठो नभए पनि उसँगको भेट मलाई खुब मिठो लाग्यो कारण उ मेरो साथी होइन जीवनसाथी हुँदै थियो। म उसलाई श्वास श्वासले शरीरको अंग अंगले अपनाउने छु। म छाती फुकाएर उसकी श्रीमतीको हैसियतमा हिँड्ने छु, अनि पेट फुकाएर म उसको बच्चाको आमा बन्दा गर्व गरिरहेको हुनेछु।

वैशाख २५ को लगन तय भयो। म मेरो साथीलाई मेरो जीवनको खुसीको क्षण भन्न डराइरहेकी थिएँ। किनभने उसले जसरी आफू विवाहित भएर पनि मसँगको मित्रता बढाइरहेको थियो। अब मबाट त्यो सम्भव नहोला। उसको जीवनकोे मसँग जोडिएको पाटो अब भत्कनेछ। म कति अभागी मेरो जीवनको यो खुशीको पलमा मेरो साथी खुसी नहुन सक्थ्यो। रुन सक्थ्यो अनि म पनि रुन सक्थें। निम्तोपत्र बोकेर त्यो दिन म उ उसलाई भेट्न पुगें। त्यही दिन छोराको बाबु भएको थियो। उसको खुसीको सीमा नाघेको थियो। देख्ने बितिक्कै अंगाली हाल्ने हिम्मत गर्यो उसले मलाई। मैले उसको अँगालोमा चुपचाप आँखा बन्द गरी उभिरहें। एकछिन पछि हामी कुराकानी गर्न थाल्याैं।

राधालाई कृष्णले त्यसरी छोड्न हुन्न थियो। मैले प्रसंग त्यहाँ पुर्याएँ। ‘जीवनमा सबैथोक प्रेम पनि होइन नि। कृष्णको जन्म राधाको लागि भएको थिएन। उसँगको भेट त एउटा संयोग थियो। लिला थियो। त्यसैले यही कारण देखाएर कृष्णलाई दोषी भन्न मिल्दैन।’ अनि उ अरु अरु पनि थुप्रै उदाहरण दियो। मैले ब्यागबाट बिहेको कार्ड निकालेर उसलाई दिएँ। ‘के हो?’ उसले आश्चार्य मान्दै सोध्यो। ‘मेरो बिवाहको कार्ड।’ मैले भनें ‘जीवन एउटा प्रभुको लीला हो जे पर्छ त्यही अनुसार जीवन अघि बढाउनुपर्छ। अहिले मेरो जीवनको आवश्यकता यही हो। अघि हजुरले यसै भन्नुभएको होइन।’ उ मौन बनेर मलाई हे¥यो। मेरो मुटुको चाल पनि तीव्र भयो। त्यतिबेला हामी दुईको मनको तरंग जमिनमा पुग्दो हो त महाभुकम्प नै आउँथ्यो होला।

उसले कार्ड खोलेर पढ्यो अनि टेबलमा राख्दै ‘तिमीले यस्तो कसरी गर्न सक्छौ?‘ भन्यो। ‘किन सक्तिन?‘ मैले भने। ‘म तिमीलाई आफ्नो बनाएर राख्छु।’ ‘कसरी? हजुरले बिहे नै नगरी मलाई आफ्नो बनाउँदा म रखौटी हुन्छु। बिहे गर्नु भयो भने म सौता कहलिन्छु कविताकी। उहाँलाई छोडेर मलाई अँगाल्ने सोच्नु भएको भए त्यो दिन आउनु भन्दा म मर्नु नै जाती। अनि अनि कसरी साथ दिनु हुन्छ मलाई।’ ‘तिमी कुरामा मलाई भुलाउन सक्दिनौं। म तिम्रो विवाहलाई स्वीकार्न सक्दैनँ। म तिम्रो लागि जे सुकै पनि गर्न तयार छु तर तिमी मलाई एक वचन नसोधी यति परसम्म कसरी पुग्न सक्छौ कसरी?’ मैले उसका प्रश्नका जवाफ दिन सकिनँ। उसलाई बाईं समेत नभनेर म त्यहाँबाट हिँडे। भावनामा बगेर जेसुकै कुरा गरेपनि उ त आँखिर अर्कैको लोग्ने थियाे। म अर्कैकी दुलही बन्दै थिएँ।

(यो कथाका लेखक को हुनुहुन्छ हामीसंग नाम नभएका कारण राख्न सकेनौ ! यो कथालाई हामीले गुगलमा एउटा ब्लगमा भेटेर साभार गरेका हौ )

Share.

Comments are closed.

error: Content is protected !!