उपत्यकाबाट २४ मेट्रिक टन फोहर व्यवस्थापन

0

काठमाडौँ, १३ माघ (रासस) : उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २४ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४६औँ हप्तामा आज शंखमूल दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ५०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २०७औँ हप्तामा हनुमानघाट र गोठाटार पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइको २०२ हप्तामा मैतीदेवी मन्दिर–सेतोपुल–रुद्रनगर टोलमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

विष्णुमती सफाइको १७४औँ हप्तामा तारकेश्वर नगरपालिका–१० मनमैँजु पुलमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियन्ता बिजेन्द्र लामाले सुनाउनुभयो । सफाइका क्रममा निजी विद्यालयले सडकको दायाँबायाँ रहेका खम्बामा झुन्ड्याएका भर्ना खुल्यो भन्ने ब्यानर हटाइएको उहाँले जानकारी दिनुभयो ।

चक्रपथ सफाइको ४२औँ हप्तामा सुकेधारा क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको पनि सहभागिता थियो । सडकमा फालिएका मोबाइल रिचार्ज गरेका कार्ड र सूर्तीको खोल पनि हटाइएको अभियन्ता लोकबहादुर टण्डनले बताउनुभयो । वाग्मतीको तिलगंगा क्षेत्र, मीनभवन क्षेत्रको आलोकनगर र चक्रपथको बाफलखण्डमा पनि आज जनचेतनामूलक सफाइ अभियान चलाइएको सफाइ महाअभियानले जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!