आवश्यक विधेयक छिट्टै संसद्मा पेश गरिने : मन्त्री तामाङ

0

काठमाडौँ, ६ जेठ: कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयक छिट्टै संसद्मा पेश गर्ने तयारी गरिरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले प्रदेश तथा स्थानीय तहका लागि पनि कानून तर्जुमा भएपछि सरलता आउने बताउनुभयो ।

मन्त्री तामाङले प्रतिनिधिसभा कार्य सञ्चालनसम्बन्धी नियमावलीमा विपक्षको पनि सहमति लिएर पारित गर्ने सरकारले तयारी गरिरहेको बताउँदै तर काममा बाधा आउने स्थिति आएमा प्रक्रियामा लैजाने स्पष्ट पार्नुभयो । उहाँले फौजदारी अभियोग लागेका सभासद्लाई उन्मुक्ति दिन नहुने बताउँदै नयाँ नियमावलीले त्यस्ता सांसदलाई निलम्वन गर्ने प्रावधान राख्न लागेको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता दीलेन्द्रप्रसाद बडूले नेपाली काँग्रेस फौजदारी अभियोग लागेका सांसदको निलम्वनको विपक्षमा नभएको बताउँदै तर संविधान, कानूनको भावनाअनुसार नियमावली तयार गर्नुपर्नेमा जोड दिनुभयो । राजपाका नेता लक्ष्मणलाल कर्णले नयाँ संविधानलाई राजपाले अहिले पनि स्वीकार गरिनसकेको बताउँदै संविधानलाई मिचेर नियमावली ल्याउन नहुने बताउनुभयो ।

पूर्वगृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संविधानमा समाजवादउन्मुख भनी लेखिएको जानकारी दिँदै वर्तमान सरकारले समृद्धिका लागि आम जनसमुदायलाई पनि सँगै अभियानमा सहभागी गराउने उद्देश्य राखेको बताउनुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!