अवरुद्ध खिम्ती लामोसाँघु प्रसारण लाइन सञ्चालन

0

काठमाडौँ, १७ चैत : हावाहुरीका कारण क्षतिग्रस्त भएको खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइनको मर्मतसम्भार सम्पन्न भई विद्युत् आपूर्ति भएको छ ।नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार हावाहुरीका कारण रुख ढल्दा उक्त प्रसारण लाइनका तार चुँडिन गएको थियो ।चुँडिएका तारको मर्मत सम्भार गरी आज साँझदेखि विद्युत् प्रवाह पुनः शुरु गरिएको हो । सो प्रसारण लाइनमा यही चैत १५ गते साँझदेखि समस्या उत्पन्न भएको छ ।

प्रसारण लाइनमा समस्या आउँदा ४० मेगावाट विद्युत् प्रवाहमा कठिनाइ उत्पन्न भएको थियो । कूल ४० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएपछि काठमाडौँ उपत्यकाको विद्युत् प्रवाहका लागि वैकल्पिक व्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

प्राधिकरणले हुरी बतास चल्ने मौसम भएकाले प्रसारण तथा वितरण लाइनमा रुखका हाँगा पर्ने, तार चुँडिने आदि घटना हुने भएकाले त्यसमा ध्यान दिन र कुनै स्थानमा त्यस्तो देखिए सम्पर्क गरिदिनसमेत आग्रह गरेको छ ।

विद्युत् प्रवाहमा समस्या नहोस् भनेर प्राधिकरणले प्रसारण तथा वितरण लाइनका नजिक पर्ने हाँगाबिँगा काट्ने, लच्केका तारहरू तन्काई कसिलो पार्ने, पोलहरू बदली गर्ने आदि मर्मत सम्भारका कार्य नियमित गरिरहेको समेत जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!