अलैँचीमा गुणस्तरको खोजी हुँदा किसान मर्कामा

0

तेह्रथुम, १२ माघ : मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका यामबहादुर लिम्बू करिब दुई बोरा अलैँची बेच्न पिठ्यूँमा बोकेर व्यापारी इन्द्र भण्डारीको पसल पुग्नुभयो। भण्डारीले अलैँची राम्ररी नसुकेको भन्दै लिम्बूलाई घर फर्काउनुभयो ।

विगतमा यसैगरी सुकाएर लाखौँको अलैँची कारोबार गरेका लिम्बूलाई व्यापारीले अलैँचीको गुणस्तर भएन भन्दा रिस उठ्यो । ‘पहिले यस्तै अलैँची व्यापारीले खुसी भएर किन्थे,’ उहाँले भन्नुभयो । लिम्बूले पुनः सुकाएर ल्याएपछि दुई साताअघि डेढ मन अलैँची प्रतिमन रु २८ हजारका दरले भण्डारीले खरिद गर्नुभयो ।

श्रीजुङकै किसान देउबहादुर लिम्बूले फलाएको १५ मन अलैँची पनि न्यून गुणस्तरको ठहरियो । उहाँको केही अलैँची मात्रै मध्यमस्तरको ठहर गरी बाँकी सबै अलैँची न्यून गुणस्तरकै मूल्यमा बिक्री भयो । विगतमा उत्पादन गरेको अलैँचीको गुणस्तरको कुनै वास्ता हुदैनथ्यो ।

विगतमा व्यापारीले किसानले उत्पादन गरेको अलैँचीको गुणस्तरको विषयमा चासो नराखी नाफामुखी व्यापार गर्दैआएका थिए । मूल्य एक्कासि घटेपछि नेपाली अलैँचीमाथि गुणस्तरको प्रश्न चिन्ह ठडिन थालेको व्यवसायी बताउँछन् । यसवर्ष गुणस्तरीय, मध्यम र चलनचल्तीको अलैँचीको छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको छ । व्यापारीले गुणस्तरीय अलैँची खोज्न थालेपछि किसानले दुःख पाएका छन् ।

“विगतमा जस्तोसुकै अलैँची पनि एउटै भाउमा बिक्थ्यो, तर अहिले त्यस्तो छैन,’ उहाँले भन्नुभयो । किसानले अलैँचीको तौल बढाउन बेच्ने बेला पानी हालेर पनि लैजाने गरेका थिए । यसवर्ष अलैँचीको गुणस्तरलाई ध्यानमा राखेर खरिद बिक्रीको कारोबार गरिरहेको व्यापारी भण्डारी बताउनुहुन्छ ।

भण्डारीले यसवर्ष सात मन अलैँची फलाउनुभयो । करिब ४० मन अलैँची खरिद बिक्री गरेको उहाँले बताउनुभयो । नसुकेको काँचो, ढुँसी पलाएको, पुच्छर नकाटेको, कुहिएको अलैँची मिसिएको र भट्टी लगाउँदा डढेको जस्ता अलैँची बजारमा यसपालि किनबेच नभएको भण्डारीले बताउनुभयो ।

यसवर्ष जिल्लामा अलैँचीको कारोबार गुणस्तर हेरेर मात्रै गरिएको अलैँची व्यवसायी संघले जनाएको छ । अलैँची व्यवसायी महासंघले निर्धारण गरेको उच्च गुणस्तरीय, मध्यम र चलन चल्तीको अलैँचीको छुट्टाछुट्टै मूल्यमा आधारित रहेर कारोबार भइरहेको अलैँची व्यवसायी संघका महासचिव तुलसी ढकालले बताउनुभयो ।

“पहिलेकै गुणस्तरको अलैँची यसपालि बजारमा कारोबार भएन, बरु फिर्ता गरेर पठाइयो,” उहाँले भन्नुभयो । ढकालले यसवर्ष सात सय मनभन्दा बढी अलैँची कारोबार गर्नुभयोे । दुई सय मन मात्रै गुणस्तरीय अलैँची थियो । बाँकी सबै चलनचल्तीकै जस्तो अलैँची रहेको उहाँले बताउनुभयो ।

“राम्रो सुकेको, पुच्छर काटेको, ढुँसी नपलाएको र ठूलो दाना भएको अलैँची गुणस्तरीयमा पर्छ,” उहाँले भन्नुभयो ।

पुच्छर नकाटे पनि ठूलो दाना भएको अलैँची मध्यम गुणस्तरको ठहरिन्छ । ढुँसी पलाएको र राम्ररी नसुकेको अलैँची गुणस्तरहीन हो । यसवर्ष बजारमा नसुकेको काँचो, ढुँसी पलाएको, पुच्छर नकाटेको, कुहिएको अलैँची मिसिएको, भट्टी लगाउँदा डढेको, बजार ल्याउने बेला पानी हालेको अलैँची धेरै नै थियो । किन्ने बेला व्यापारीले भूइँमा खन्याएर दानादाना छुटाएर हेरेपछि गुणस्तरमा ध्यान नदिने किसान फन्दामा परेका हुन् ।

गुणस्तरको आधारमा किनबेच हुँदा विगत देखिनै गुणस्तरीय अलैँची फलाउँदै आएका किसानलाई राहत मिलेको छ । “उत्पादनमा गुणस्तर नहुनु किसानलाई त्यसबारे जानकारी नभएर पनि हो यसपालि धेरैले सिके, अर्कोवर्षबाट राम्रो उत्पादन आउँछ भन्ने आशा छ,” ढकालले भन्नुभयो । जिल्लामा अलैँची खेतीसँग सम्बन्धित धेरै कार्यक्रम सञ्चालन भए पनि गुणस्तरीय अलैँची उत्पादन सम्बन्धी कुनै पनि कार्यक्रम भएका छैनन् ।

किसानलाई गुणस्तरीय उत्पादनबारे थाहा नै छैन । आफूलाई गुणस्तरीय अलैँचीको छुट्टै मूल्य पर्नेबारे केही थाहा नभएको ओयाक्जुङकी किसान मालती जोगीले बताउनुभयो । ‘सधैँ झैँ अलैँची लिएर गएँ, भूइँमा थुपारेर अलैँची हेर्नुभयो, उहाँले भन्नुभयो, “भाउ सधैँ एउटै हुन्थ्यो, त्यहीँअनुसार हिसाब गरेर पैसा लिएँ ।”

मालतीले अलैँचीमा गुणस्तरको कुरा यसभन्दा अगाडि कहिल्यै नसुनेको बताउनुभयो । अलैँचीखेती किसानका लागि सबैभन्दा सजिलो खेती हो । कतिपय किसानमा अझैपनि अलैँची भन्नासाथ बाजेले रोप्ने र नातिसम्मले फलमात्रै खाइरहने भन्ने बुझाइ बाँकी नै छ ।

गुणस्तरीय अलैँची उत्पादन गर्न किसानलाई आधुनिक प्रविधिको प्रयोग बढाउन सुझाएको व्यवसायी बताउँछन् । तर किसानले भने आधुनिक भट्टी अलैँची सुकाउनका लागि खासै काम नलाग्ने बताएका छन् । जिल्लाका किसानलाई दुई वर्षअघि उद्योग वाणिज्य संघले एक सयवटा अनुदानमा आधुनिक भट्टी वितरण गरेको थियो । अहिले एउटा पनि प्रयोगमा छैन ।

किसानले आधुनिक भट्टीको प्रयोग प्राविधिक रुपमा असजिलो, महँगो र धेरै समय लाग्ने भएको बताएका छन् । आधुनिक भट्टीको अलैँची र परम्परागत भट्टीमा सुकाएको अलैँचीको मूल्यमा खासै फरक नहुने भएकाले पनि कम खर्चमै सुकाउन परम्परागत भट्टीको प्रयोग गरेको फुलेकका किसान योगेन्द्र कार्कीले बताउनुभयो । प्रकाश धौलाकोटी, रासस

Share.

Comments are closed.

error: Content is protected !!