अरुण तेस्रो शिलान्यासमा माओवादी रुष्ट

0

काठमाडौं, ३१ बैशाख : अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यासमा नेकपा माओवादी केन्द्र रुष्ट भएको छ। गठबन्धन सरकारमा आफ्ना तर्फबाट विभागीय मन्त्रीलाई थाहै नदिई प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आयोजनाको संयुक्त शिलान्यास गरेपछि माओवादी रिसाएको हो।

ऊर्जा तथा जलस्रोत मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र अन्य अधिकारीलाई बोलाइए पनि ऊर्जामन्त्री वर्षमान पुनलाई सो समारोहमा निमन्त्रणा नै नगरिएपछि माओवादी प्रधानमन्त्री ओलीसँग रिसाएको हो। गत शुक्रबार राति काठमाडौंको बत्तीसपुतलीस्थित होटल द्वारिकाजबाट स्वीच थिचेर अरुण तेस्रोको शिलान्यास गरिएको थियो। शिलान्यास कार्यक्रममा मन्त्री पुनलाई नबोलाइएको ऊर्जामन्त्री सचिवालयले बतायो।

‘ऊर्जामन्त्री काठमाडौंमै हुनुहुन्थ्यो, उहाँ यहीँ हुँदाहुँदै शिलान्यास कार्यक्रममा निमन्त्रणा थिएन,’ मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले भने, ‘सचिवहरूलाई आमन्त्रण गरेर आफूलाई छुटाइएकोमा मन्त्रीले अप्ठ्यारो मान्नुभएको छ ।’ त्यति ठूलो आयोजनाको शिलान्यास गर्दा विभागीय मन्त्रीलाई थाहा नै नदिनु भनेको प्रधानमन्त्री ओलीले हेपाहा प्रवित्ति देखाएको माओवादीको बुझाइ छ।

माओवादी केन्द्रले नै विभागीय मन्त्रीलाई शिलान्यास कार्यक्रममा नबोलाइनुको पछाडिको नियतमा प्रश्न उठाएको छ। ‘त्यति ठूलो आयोजना शिलान्यास कार्यक्रममा विभागीय मन्त्रीलाई जानकारी नदिनु गम्भीर विषय हो,’ माओवादीका एक नेताले भने, ‘यसमा हामीलाई प्रधानमन्त्रीको नियमत माथि नै शंका लागेको छ। हामीले पार्टीमा गम्भीर समीक्षा सुरु गरेका छौं।’

अरुण तेस्रोको लाइसेन्स दिने सम्बन्धमा ऊर्जा मन्त्रालय र लगानी बोर्डबीच विवाद थियो। लगानी भित्र्याएपछि आयोजना निर्माणको अनुमतिपत्र लगानी बोर्डले दिन नमिल्ने मन्त्रालयको अडान छ। ऊर्जा मन्त्रालय र विद्युत् विकास विभागको अधिकार खोसेर लगानी बोर्डमार्फत सिधै लाइसेन्स दिन खोजिएको ऊर्जा मन्त्रालयका अधिकारीहरूको आशंका छ।

शिलान्यासअघिको द्विपक्षीय वार्तामा ऊर्जामन्त्रीबाहेकका २१ जना नेपालका तर्फबाट सहभागी थिए। लगानी बोर्डले ४ सय ५० मेगावाट भन्दा माथिका केही योजना ऊर्जासँग मागेको थियो । त्यसमा ऊर्जामन्त्री सकारात्मक रहेको मन्त्रालय स्रोतले बतायो।

शुक्रबार भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा आयोजित रात्रि भोजमा समेत माओवादी मन्त्रीहरूलाई विभेद गरिएको आरोप लगाइएको छ। रात्रि भोजमा माओवादीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाबाहेक अरूलाई आमन्त्रण गरिएको थिएन। छुटाइएको विरोधमा माओवादी मन्त्रीहरू शनिबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दनमा उपस्थित भएनन्।
-राजधानी दैनिक

Share.

Comments are closed.

error: Content is protected !!