अमेरिका र उत्तर कोरियाबीच गोप्य वार्ता हुँदै

0

एजेन्सी : अमेरिकी र उत्तर कोरियाली अधिकारी बीच गोप्य रुपमा पहिलोपटक प्रत्यक्ष वार्ता भइरहेको सिएनएनले जनाएको छ ।

वास्तवमा यो गोप्य वार्ता राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तर कोरियली नेता किम जोङसँग तय भएको बैठकको तयारीमा भइरहको बताइएको छ । वार्तापूर्व विभिन्न विषयमा कूटनीतिक छलफल तथा व्यास्थापनको योजना अघि बढाउन दुवै देशबीच गोप्य वार्ता जारी रहेको जानकार अधिकारीले सीएनएनलाई बताएका छन् ।

केन्द्रिय खुफिया एजेन्सीका निर्देशक माइक पोम्पेओले नेतृत्व गरेको टोलीले विशेषगरी ट्रम्प–किम बैठकका लागि उपयुक्त स्थानको छनौट गर्न यसअघि पनि उत्तरका खुफिया अधिकारीसँग थुप्रैपटक भेट गरिसकेको बताइएको छ ।

उत्तर कोरियाले अहिलेसम्म किमले ट्रम्पलाई आमन्त्रण गरेको सम्बन्धि स्पष्ट घोषणा नगरेपनि दक्षिणका प्रतिनिधिमार्फत उत्तर कोरियाले ट्रम्पको सहमतिबारे जानकारी पाइसकेको बताइएको छ । त्यसैले कोरियाली प्रायद्विपलाई परमाणु हतियार मुक्त बनाउनेमा किमले पनि ट्रम्पसँग छलफल गर्ने चाहाना व्यक्त गरिरहेकाले नै उत्तर कोरियाका तर्फबाट धेरै तयारी अघि बढाइएको बताइएको छ ।

यस्तोमा उत्तरका अधिकारीहरुले भने उनीहरुकै देशको राजधानी प्योङयोङमा बैठक बस्न जोड दिइरहेका छन् । तर अमेरिकाले सहमति नजनाएपछि मंगोलियाको राजनधानी उलानबटार पनि सम्भावित स्थान हुन सक्ने बताइएको छ । पोम्पेओ र उत्तर कोरियाली प्रमुखबीच यसै विषयमा सहमति भइसकेपछि मात्र दुवै पक्षका एजेन्डाबारे वृस्तृत छलफल गरिने बताइएको छ । ट्रम्पका सबैभन्दा विश्वसनीय सुरक्षा सल्लाहकार मानिने पोम्पेओले व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लिएको हुनाले पनि कूटनीतिक तयारी पोम्पेओकै निगरानीमा भइरहेको बताइएको छ ।

यसरी उत्तरका अधिकारीहरु ट्रम्प–किम बैठकको योजनामा आफैँले पनि धेरै जोड दिइरहेकाले उत्तर कोरिया यस विषयमा अत्यन्तै गम्भीर रहेको प्रष्ट देखिएको अमेरिकी अधिकारीले बताएका हुन् । त्यसैगरी दक्षिण कोरियाली अधिकारीहरु वार्ता सफल हुनेमा आशावादी रहेका छन् भने चीनले पनि किमको भ्रमणपछि ट्रम्पसँगको वार्ता सफल हुने सम्भावना अधिक रहेको दाबी गरेको छ । तर हालै राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा नियुक्त जोन बोल्टनले सोमबार देखि नै कार्यभार सम्हाल्ने तय भएकाले वार्तामा नयाँ चुनौति थपिन सक्नेमा दक्षिण कोरियाले भने चिन्ता व्यक्त गरिरहेको छ ।

 

Share.

Comments are closed.

error: Content is protected !!