अफ्रिकासँग बलियो गठबन्धन बनाउन जन्करको आग्रह

0

स्ट्रासबर्ग, फ्रान्स, २७ भदौ : युरोपेली आयोगका प्रमुख जाँ क्लाउड–जन्करले बुधबार अफ्रिकासँग नयाँ गठबन्धन निर्माण गर्न आग्रह गर्नुभएको छ । उहाँले स्वतन्त्र व्यापार सम्झौता सहितको यो गठबन्धनले लाखौं रोजगारी सिर्जना गर्ने बताउनुभयो ।

भूमध्यसागरको कठिन यात्रा पार गरेर युरोप प्रवेश गर्ने लाखौं अफ्रिकी आप्रवासीको आप्रवाह रोक्न सङ्घर्षरत युरोपेली मुलुकहरुले विकल्पमाथि विचार गर्नुपर्ने समय आएको जन्करले उल्लेख गर्नुभयो । राम्रो जीवनको खोजीमा अफ्रिकी नागरिकहरु अवैध रुपमा खासगरी स्पेन र इटाली प्रवेश गर्दछन् ।

हामीले अफ्रिका र युरोपेली युनियनबीच व्यापार सम्झौताहरु गर्नुपर्ने आवश्यकता छ भन्दै जन्करले दुबै महादेशबीचको स्वतन्त्र व्यापार सम्झौताले अफ्रिकी मुलुकहरुमा रोजगारी सिर्जनमा मद्दत गर्ने बताउनुभयो ।

युरोपेली संसदमा सम्बोधन गर्दै जन्करले भन्नुभयो, “नयाँ आर्थिक साझेदारीले आगामी पाँच वर्षभित्रै एक करोडभन्दा बढी रोजगारी सिर्जना गर्न सक्नेछ ।”

उहाँले युरोपेली युनियनको अफ्रिकासँगको सम्बन्धलाई विकास सहयोगका रुपमा मात्र हेरिनु हुँदैन भन्नुभयो । “अफ्रिका दयाको पात्र होइन । अफ्रिकालाई सन्तुलित साझेदारी चाहिएको छ र युरोपलाई पनि यस्तै साझेदार चाहिएको हो ।” रासस/एएफपी

Share.

Comments are closed.

error: Content is protected !!