अनमोलको जस्तै सम्राज्ञीको खतरा क्रेज, हलपुग्दा दर्शकले यसरी घेरे [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर, भक्तपुर। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को इनिसियल बक्सअफिस आक्रामक देखिएको छ साथै हलमा दर्शकको क्रेज पनि उत्तिकै छ। अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धिरज मगर स्टारर उक्त फिल्म हेर्न हलमा दर्शकको घुइँचो लागेको छ ।

मल्टिप्लेक्स अडियन्स केन्द्रित फिल्म भएपनि दर्शकको भिडभाड सिंगल स्कृनमा पनि कम छैन । शुक्रबार बिहानदेखि साँझसम्म ८० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मको शनिबार शतप्रतिशत रह्यो । गएको वर्ष प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ पछिको सर्वाधिक कलेक्सन उक्त फिल्मले गरेको फिल्मी पण्डितहरुको भनाई छ ।

साम्राज्ञी र धिरजको फिल्मले दुई दिनमा डेढ करोडको कलेक्सन अनुमान गरिएको छ । आधिकारिक बक्सअफिस रिपोर्ट भने प्राप्त भएको छैन । वितरक मनोज राठीले ‘इन्टु मिन्टु लण्डनमा’ वर्षकै सबैभन्दा ठूलो ओपनर फिल्म बनेको दाबी गरे ।

मल्टिप्लेक्समा फिल्मको टिकट सर्वाधिक सेल्स भएको छ । राजधानीको ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले शनिबार यो फिल्मलाई १२ सोज दिएको थियो । जसमध्ये अधिकांश सोज हाउसफुल रहे । वितरक राठी फिल्मको कमाई देखेर उत्साहित छन् ।

फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, फिल्मले शनिबार मात्र घरेलु बजारमा एक करोडको कमाई गरेको छ । हलमा फिल्म हेर्ने अधिकांश दर्शक १६-२० वर्ष उमेर समुहका छन् । साम्राज्ञी र धिरजको क्रेज प्रमाणित भएकोमा निर्देशक रेनाशा वान्तवा राई दंग देखिएकी छन् ।

शनिबार दिउँसो राजधानीका विभिन्न हल पुग्दा फिल्मका प्रमुख कलाकार साम्राज्ञी, धिरज र सारुक ताम्राकारलाई टिमले बडिगार्ड उपलब्ध गराएको थियो । दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न दिउँसो गोपीकृष्ण हलमा पुगेका फिल्मका कलाकारलाई दर्शकबाट जोगाउन बडिगार्डलाई समेत हम्मेहम्मे परेको थियो ।

एक सेल्फी नखिचि उनीहरुलाई दर्शकले पाइला सार्न दिएनन् । धिरजलाई देखेपछि हलमा युवतीहरुको रुवाबासी भएको थियो । मोफसलका प्रमुख स्टेशनहरु पोखरा, विर्तामोड, दमक र चितवनका पर्दाहरुमा पनि फिल्मले शुक्रबार र शनिबार हाउसफुल दर्शक भित्राएको छ । फिल्मले आक्रामक ओपनिङ गर्नुमा प्रमोसन, गीत र स्टार कास्टलाई मानिएको छ ।

बैशाखदेखि असोज पहिलो हप्तासम्म आइपुग्दा दुई फिल्म ‘नाईं नभन्नू ल ५’ र ‘रामकहानी’ ले मात्र बक्सअफिसमा सुखद कलेक्सन गर्न सफल भएका थिए । आक्रामक ओपनिङ नभएपनि दुई फिल्मले खडेरी लागेको फिल्मको बजारमा भने ठूलै सास भरेका थिए । ‘इन्टु मिन्टु लण्डनमा’ अब बक्सअफिसमा सशक्त भएर देखा परेको छ ।

सो फिल्मको आक्रामक ओपनिङले सबैलाई अचम्मित बनाएको छ । निर्माण टिमलाई पनि फिल्मको इनिसियल व्यापार आक्रामक हुने विश्वास थिएन । साढे २ करोडको लागतमा निर्माण भएको उक्त फिल्मले घरेलु बजारबाट लगानी सुरक्षित गर्न लामो रेसको घोडा बन्नु पर्ने हुन्छ ।

समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो फिल्मले दर्शकबाट भने राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मको लाइफटाइम कलेक्शन भने आइतबारदेखिको व्यापारमा भर पर्नेछ ।

केही हप्ता लण्डन घुम्न गएकी मिन्टु अर्थात् मिरा (साम्राज्ञी) र लण्डनकै रैथाने इन्टु अर्थात् इशान (धिरज) को प्रेमकथा वाचन गरेको फिल्ममा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको अभिनय छ । फिल्मलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

Share.

Comments are closed.

error: Content is protected !!